आनी छोइङलाई नियुक्त गर्ने निर्णयको सूचना दिन मन्त्रालयको आनाकानी


काठमाडौँ । बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयसम्बन्धी सूचना माग्न पुगेका राष्ट्रिय जेन्जी नागरिक अभियानका प्रतिनिधि रित्तो हात फर्किएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा २०८३ असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँग सम्बन्धित आधिकारिक सूचना तथा आवश्यक कागजात माग गर्दै अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारी पत्रसहित मन्त्रालय पुगेका थिए ।

तर, मन्त्रालयका सचिव मुकुन्दप्रसाद आचार्य र सहसचिव जय नारायण आचार्यले माग गरिएको सूचना उपलब्ध गराउन नमिल्ने जवाफ दिएको अभियानका प्रतिनिधिहरूले बताएका छन् । सूचना नपाएपछि उनीहरू रित्तो हात फर्किन बाध्य भएका हुन् ।

यसैबीच, मन्त्रालयका सूचना अधिकारी शोभाकर रेग्मी बिदामा रहेको जानकारी दिइएको थियो ।

सार्वजनिक पदमा भएको नियुक्ति र मन्त्रिपरिषद्को निर्णयसँग सम्बन्धित आधिकारिक कागजात माग गर्दा मन्त्रालयले सूचना उपलब्ध नगराएको घटनाले पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ ।