काठमाडौँ, १० मङ्सिर । अमेरिकन डलर साटिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भएका ३३ वर्षीय जितबहादुर पाइनलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरको जङ्गल नजिक एकान्त ठाउँमा गत असोज ६ गते निजले एक व्यक्तिलाई अमेरिकन डलर सस्तो दरमा साटिदिन्छु भनि प्रलोभनमा पारी पीडितले साथमा ल्याएको नगद रु २० लाख ४५ हजार लिई फरार भएका थिए ।
सोही घटनाको अनुसन्धानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया