दोहोरो अंकले झर्यो नेप्से, कारोबार रकम पनि खुम्चियो


काठमाडौँ । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १०.८९ अंकले ओरालो लाग्दै २६३६.७५ विन्दुमा कायम भएको छ । सूचकसँगै कारोबार रकममा समेत संकुचन आएको छ ।

कारोबारमा आएका ३५५ कम्पनीका १ करोड ४७ लाख १० हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बिहीबार बजारमा घट्ने कम्पनीहरूको संख्या बढी रह्यो । कुल १७९ कम्पनीको सेयर मूल्य घट्दा ८६ कम्पनीको मूल्य मात्र उकालो लाग्यो । यस्तै, १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

उपसमूहगत रूपमा हेर्दा १३ वटा समूहमध्ये लगानी समूहको परिसूचक मात्र ०.७२ प्रतिशतले सकारात्मक रह्यो । बाँकी १२ वटा समूहको सूचक भने घटेको छ । तीमध्ये व्यापार समूह सर्वाधिक १.५२ प्रतिशत र बैंकिङ समूह ०.९३ प्रतिशतले खुम्चिए ।

मूल्य वृद्धिका हिसाबले युनिक नेपाल लघुवित्त ४.८८ प्रतिशतसहित अगाडि रह्यो । गार्डियन माइक्रोलाइफ ४.००, हाथवे इन्भेस्टमेन्ट ३.९८ र एपोलो हाइड्रोपावरको सेयर मूल्य ३.०२ प्रतिशतले बढ्यो । अर्कोतर्फ, एभरेस्ट कलरको मूल्य सर्वाधिक ४.६० प्रतिशतले घट्दा सर्वोत्तम पेन्ट्स र स्टान्डर्ड चार्टर्ड बैंकको मूल्य समान ३.४८ तथा जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ३.४१ प्रतिशतले ओरालो लाग्यो ।

कारोबार रकमका आधारमा हिमालयन ऊर्जा विकास कम्पनी २४ करोड १ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो भने पिपुल्स हाइड्रोपावर २२ करोड ७६ लाख रुपैयाँको कारोबारसहित दोस्रो स्थानमा रह्यो ।