काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल र सभामुख डोलप्रसाद अर्यालकी पत्नी अम्बिका केसी अर्याल भारत भ्रमणमा रहेका छन्। उनीहरूले भारतको मुम्बईस्थित विभिन्न प्रसिद्ध मन्दिर तथा धार्मिक स्थलकाे दर्शन गरेका छन्।
निकिता पौडेल र अम्बिका केसी अर्यालले मुम्बईस्थित प्रसिद्ध श्री सिद्धिविनायक गणपति मन्दिर र महालक्ष्मी मन्दिरमा दर्शन गरेका हुन्।
मुम्बईको प्रभादेवी क्षेत्रमा रहेको सिद्धिविनायक मन्दिर भगवान् गणेशको प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित छ । त्यस्तै, महालक्ष्मी क्षेत्रमा रहेको महालक्ष्मी मन्दिर पनि भारतका चर्चित शक्तिपीठमध्ये एक मानिन्छ।
यसअघि पनि रवि लामिछाने पत्नी निकितासँगै भारतका विभिन्न धार्मिक स्थलमा दर्शनका लागि पुगेका थिए। केही महिनाअघि उनीहरू भारतका प्रसिद्ध मन्दिरमा पुगेर धार्मिक दर्शन गरी स्वदेश फर्किएका थिए।
यसपटक भने रास्वपा सभापति रवि लामिछानेकी पत्नी र सभामुख डोलप्रसाद अर्यालकी पत्नी एकसाथ भारतको धार्मिक भ्रमणमा रहेका छन्।
यता, प्रधानमन्त्री बालेन्द्र शाहले भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएलगत्तै सत्तारूढ राजनीतिक दलका सभापति तथा सभामुखका पत्नीहरू भारत भ्रमणमा रहनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।




प्रतिक्रिया