काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत गरेको छ।
समितिका संयोजकको सिफारिसमा कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल सदस्य रहेको समिति मनोनीत गरिएको हो।
आज बसेको क्यान्डिडेट क्लब समितिको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
बैठकमा उम्मेदवार बन्न इच्छुक आकांक्षी तथा आवेदन दिने व्यक्तिहरूबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि तथा प्रक्रिया निर्धारण गर्ने विषयमा पनि छलफल भएको थियो।
त्यसैगरी, विभिन्न क्षेत्रका योग्य र सक्षम व्यक्तिहरूलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउने उद्देश्यले ल्याटेरल इन्ट्री (बाह्य प्रवेश) सम्बन्धी आवेदन फारम तयार गर्ने विषयले समेत बैठकमा स्थान पाएको छ।
उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी–विरोधसम्बन्धी फारम तथा त्यसको प्रक्रिया तयार गर्ने विषयमा पनि छलफल गरिएको रास्वपाले जनाएको छ।




प्रतिक्रिया