मूल्यवृद्धि नियन्त्रणका लागि अध्ययन समिति गठन


काठमाडौं । दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धि नियन्त्रण तथा सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन समिति गठन गरेको छ।

मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव नामराज घिमिरेको संयोजकत्वमा सरोकारवालासहितको अध्ययन समिति गठन गरिएको मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

सचिव तामाङका अनुसार समितिले बजारमा भइरहेको मूल्यवृद्धिका कारण, आपूर्ति शृङ्खलाको अवस्था, बजारको समग्र स्थिति तथा सम्भावित विकृतिहरूबारे अध्ययन गर्नेछ।

समितिले अध्ययनपछि मूल्य स्थिरता कायम गर्ने, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने तथा उपभोक्ताको हित संरक्षण गर्ने उपायसहित एक महिनाभित्र मन्त्रालयसमक्ष प्रतिवेदन पेस गर्ने सचिव तामाङले उल्लेख गरेका छन्।