चुनौती स्वीकार्न स्वास्थ्यमन्त्री थापाको कर्मचारीलाई आग्रह


काठमाडौँ, २३ जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कर्तव्य निर्वाहको क्रममा आइपर्ने चुनौतीलाई स्वीकार्न कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

स्वास्थ्यमन्त्रीको कार्यकाल सकिएपछि आज मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री थापाले स्वास्थ्य क्षेत्रका बेथितिलाई हटाउन चुनौतीलाई स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – “स्वास्थ्यमा पहिले नै धेरै अभूतपूर्व कामहरु भएका रहेछन् तर त्यो विषयले महत्व पाइरहेको थिएन । कर्मचारीको अथक मेहनत र इमान्दारीका कारण १० महिने कार्यकालमा स्वास्थ्यका विषय राजनीतिक मुद्दा बनेको छ । अहिले मन्त्रालयले गर्ने हरेक निर्णय र काममा राजनीतिक दललगायत सबैको ध्यान केन्द्रित गरिरहेकाले सुरु गरिएको कामलाई निरन्तरता दिनु आवश्यक छ । चुनौती लिँदा आफू फसिन्छ कि भन्ने डर त्यागेर सकारात्मक सोचका साथ निर्णय लिनसक्नुपर्छ ।”

आफू मन्त्री भएर पहिलो पटक मन्त्रालय आउँदै गर्दा निकै डराएको स्मरण सुनाउँदै उहाँले पहिल्यै सुरु भएका राम्रा कामलाई निरन्तरता दिई गर्नैपर्ने चुनौतीपूर्ण काम पनि चाहेमा गर्न सकिन्छ भन्ने अनुभव बटुलेको बताउनुभयो ।

स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अहिलेको नेतृत्वले सुरु गरेका कामलाई निरन्तरता दिनु चुनौतीपूर्ण काम भएको र जारी गरिएका नीति निर्देशन, सेवा सुविधालाई गाउँगाउँमा पु¥याउन लाग्न कर्मचारीसँग अनुरोध गर्नुभयो । उहाँले आफ्नो छ महिनाको कार्यकालमा स्वास्थ्यका कर्मचारीसँगको सहकार्य अवीस्मरणीय रहेको बताउनुभयो ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले मन्त्रीको गतिलाई भेटाउन निकै गाह्रो भएको अनुभव सुनाउँदै आफूले पर्याप्त सहयोग गर्न नसकेकामा क्षमा माग्नुभएको थियो ।

पाँच बजेसम्म बहिरङ्ग सेवा, अस्पतालको आफ्नै फार्मेसी, निःशुल्क औषधिको खरिद र अत्यावश्यक नीतिकोे निर्माण हुनु महत्वपूर्ण र सकारात्मक काम भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रमुख विशेषज्ञ डा किरण रेग्मीले मन्त्री थापाको नेतृत्वमा काम गर्दाको अनुभव निकै उत्साहजनक र उपलब्धिपूर्ण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “सबै मन्त्रीको आफ्नै विशेषता थियो, सधैँ मन्त्री र कर्मचारीबीच एकखालको दूरी थियो । तर यो पटक मन्त्री र कर्मचारीबीच कुनै दूरी थिएन । सहकार्यको वातावरण बनेको छ । त्यो पछिसम्मका लागि सकारात्मक पक्ष हो ।’’ रासस

Skip This

Omoda E5 Pro