काठमाडौं, १६ असोज । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले अबको निर्वाचनमा आफ्नो पार्टीले अप्राकृतिक गठबन्धन नगर्ने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीयता बाध्य भएर मानेको भनेर स्वयम एमाले नेताहरुले भनेकोले एमालेबाहेकका परिवर्तनकारी शक्तिहरुसँगमात्रै तालमेल हुने बताए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले संघीयता र समाजवाद विचाराधारा बोकेका र संविधान संशोधन प्रस्तावको पक्षमा उभिएका शक्तिहरुसँग गठबन्धन हुने जनाए । यद्धपी उनले संविधान संशोधनलाई राष्ट्रघाती भन्नेहरु पनि अहिले तालमेलको लागि तयार भएको कुरालाई अनौंठो रुपमा लिन नहुने बताए ।
उनले तालमेलको लागि आफ्नो पार्टीले अहिले नै ढोका बन्दको नीति भने नलिएको जिकिर गरे । उनले थपे,‘हामी तालमेलको लागि खुल्ला छौं।’
उनले देशमा परिवर्तनकोलागि शासकीय स्वरुपमा परिवर्तन ल्याउन जरुरी रहेकोले आफूहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति केन्द्रमा र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रदेशमा हुनुपर्ने पक्षमा रहेको सुनाए ।




प्रतिक्रिया