११ कात्तिक, काठमाण्डौ । आगामी चुनावका लागि उम्मेदवार बनाउने विषयमा निकै विवादित बन्दै आएको तनहुँ जिल्ला नेपाली कांग्रेसभित्र पार्टीलाई धरापमा पार्ने र जोगाउने दुई खेमा स्पष्ट देखिएको छ ।
शुक्रबार नेता गोविन्दराज जोशीले पार्टीको संसदीय वोर्डको निर्णय विपरित उम्मेदवारका विषयमा भ्रम फैल्याएर अनुशासनविपरित काम गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका नेताहरुसँग छलफल गरेका छन् । पार्टीले तनहुँ क्षेत्र नम्बर १ बाट पार्टीले आधिकारिक रुपमा उम्मेदवार बनाएका पौडेलविरुद्ध सुनियोजित रुपमा लागेका जोशीको क्रियाकलापले नेपाली कांग्रेस कमजोर बन्न सक्ने भन्दै अहिले तनहुँका कांग्रेस नेताहरु काठमाण्डौमा छलफलमा जुटेका हुन् ।
भ्रष्टाचारको आरोपमा सर्वोच्चमा मुद्दा परेपछि स्वभाविक रुपमा पार्टीभित्र विलिन भएका जोशीले आफू कमजोर हुनुको दोष रामचन्द्र पौडेललाई लगाउँदै आएका छन् । भ्रष्टाचारको मुद्धा सर्वोच्चमा विचाराधिन भएको मौका छोपी जोशीले यसपटकको चुनावमा पौडेललाई हराएर चित्त बुझाउन खोजेको आरोप कांग्रेस तनहँुका नेताहरुले लगाएका छन् ।
६४ सालको चुनावमा माओवादीको जनलहरको सिकार बनेर चुनाव हारेका जोशीले त्यसपछिको कांग्रेसकै महाधिवेशनमा केन्द्रिय सदस्यमासमेत पराजित भएपछि राजनीतिक जीवन नै धरापमा परेको थियो । तर पछिल्लो समय तनहुँ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको टिकट पाउनुपर्छ भन्दै दबाब दिएका जोशीले पौडेलले एकलौटी गरेको आरोप लगाएका छन् ।
संसदीय बोर्डले आधिकारिक निर्णय गरेर पौडेललाई १ नम्बरमा टिकट दिएपछि जोशीले आफू निकट केही स्थानीय कार्यकर्ताको साथ लिएर आफैले आफूलाई उक्त क्षेत्रको उम्मेदवा भनि चर्चा गरिरहेका छन् ।
यही विषयलाई लिएर तनहुँ काग्रेसका कार्यसमितिसहित पौडेलले छलफल गरेका हुन् । पौडेलसँगको छलफलमा तनहुँ कांग्रेसका सभापति बैकुण्ड न्यौपाने, उपसभापति जितप्रसाद आले, सचिव लक्ष्मी आचार्य र कोषाध्यक्ष रेशम गुरुङ सहभागि छन् ।
नेपाली कांग्रेसलाई एकजुट बनाएर अगाडि बढाउने विषयमा गर्न लागिएको छलफलमा तनहुँबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल, रामचन्द्र पोखरेल, ध्रव वाग्ले र झुलबहादुर आले सहभागि छन् ।
त्यसैगरी साविक क्षेत्र नम्बर ३ का सभापति किसान गुरुङ र २ नम्बर क्षेत्रका सभापति राजेन्द्र श्रेष्ठको सहभागिता छ ।
यसअघि रामचन्द्र पौडेलविरुद्ध मोर्चाबन्दी गर्नका लागि गोविन्दराज जोशीले शनिवार विहान तनहुँका स्थानीय नेताहरु उदयराज गौली, चिनु पोख्रेल, उर्मिला थापा, बालकुमारी लोहोनी लगायतसँग छलफल गरेका थिए ।




प्रतिक्रिया