पार्टी सभापति देउवाको आग्रहसमेत लत्याए जोशीले, प्रत्यक्षमै चुनाव लड्ने अडान


कात्तिक १२, काठमाण्डौ । भ्रष्टाचारको मुद्धा लागेपछि राजनीतिक जीवन धरापमा परेर पुनः माथि उठ्न खोजेको कांग्रेस नेता गोविन्दराज जोशीले प्रत्यक्षतर्फको चुनाव लड्ने ढिपी छोडेका छैनन् ।

शनिवार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र जोशीबिच भएको छलफलमा तनहुँ क्षेत्र नम्बर १ बाट आफु पार्टीले टिकट नदिए पनि चुनाव लड्ने अडान जोशीले लिएका थिए । तनहुँ जिल्ला कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले दिएको जानकारी अनुसार पौडेल र देउवाले जोशीलाई समानुपातिक सुचिको पाँच नम्बर भित्र राख्ने प्रतिबद्धता जनाउँदासमेत जोशीले इन्कार गरेपछि कुरा मिल्न सकेन ।

तनहुँ क्षेत्र नम्बर १ मा वरिष्ठ नेता पौडेल र जोशी दुवैले प्रत्यक्षतर्फको चुनाव लड्ने अडान लिदै आएका छन् । पछिल्लो एक दशक कांग्रेसभित्रै पनि जोशीलाई भ्रष्ट नेताको रुपमा चिनिएकाले प्रत्यक्षतर्फको चुनाव लड्नु अनुकुल नहुने देखिएको छ ।

भ्रष्टाचारको मुद्दा किनारा नलागिसकेको भए पनि सर्वोच्चले जुनसुकै बेला फैसला गर्न सक्ने र जोशी जेलसमेत जानुपर्ने प्रकृतिको मुद्दा भएकाले प्रत्यक्ष चुनाव नलड्न पार्टीका कार्यकर्ताले सुझाब दिइरहेका छन् । यद्यपी तनहुँ जिल्लाका केही स्थानीय कार्यकर्ताको आडमा जोशीले आफुले चुनाव जित्ने दाबी गर्दै पार्टीले टिकट नदिए पनि स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्ने बताउँदै आएका छन् ।

वालुवाटारमा भएको तीन नेताबिचको छलफलमा सभापति देउवाले जोशीलाई अरु जुनसुकै विकल्पमा समावेश गर्न सकिने बताए पनि जोशीले ठाडै इन्कार गरेका थिए ।
तनहुँकै क्षेत्र नम्बर २ मा पनि कुरा मिल्न सकेको छैन । शंकर भण्डारी, गोविन्द भट्टराई र प्रदिप पौडेल तीनै जनाले दाबी गरेपछि टुङ्गो लाग्न सकेको छैन । यद्यपी २ नम्बरको विषयमा रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदिप पौडेल र गोविन्द भट्टराईबिचको छलफलले टुङ्गो लगाउनेसहमति भएको छ ।

चार जना नेताहरुले गरेको निर्णयलाई उम्मेदवार दाबी गर्ने नेता तथा समग्र तनहुँ कांग्रेसले स्विकार गर्नेसम्मको सहमति भएको कोषाध्यक्ष गुरुङले जानकारी दिए ।  शनिवार साझँ तनहुँ कांग्रेसको उम्मेदवारीका विषयमा काठमाण्डौको एक होटलमा छलफल गरिएको थियो ।

तनहुँ काग्रेसका कार्यसमितिसहित रामचन्द्र पौडेलले छलफल गरेका हुन् । पौडेलसँगको छलफलमा तनहुँ कांग्रेसका सभापति बैकुण्ठ न्यौपाने, उपसभापति जितप्रसाद आले, पूर्व सभापति रघुनाथ पौडेल सचिव लक्ष्मी आचार्य र कोषाध्यक्ष रेशम गुरुङ सहभागि थिए ।

नेपाली कांग्रेसलाई एकजुट बनाएर अगाडि बढाउने विषयमा गर्न लागिएको छलफलमा तनहुँबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल, रामचन्द्र पोखरेल, ध्रव वाग्ले र झुलबहादुर आले सहभागि थिए ।
त्यसैगरी साविक क्षेत्र नम्बर ३ का सभापति किसान गुरुङ र २ नम्बर क्षेत्रका सभापति राजेन्द्र श्रेष्ठको सहभागिता रहेको तनुहँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।