उपप्रधानमन्त्री श्रेष्ठद्वारा मनोनयन दर्ता


वालिङ, स्याङ्जा, १६ कात्तिक  : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका ३९ जनाले मनोनयन दर्ता गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले प्रतिनिधिसभाका लागि क्षेत्र नं २ बाट मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का केन्द्रीय सदस्य पद्मा अर्यालले मनोनयय दर्ता गराउनुभएको छ ।

यसैगरी प्रदेशसभाका लागि काँग्रेसबाट क्षेत्र नं २ (क) मा विष्णुप्रसाद पौडेल र खमा भागवतप्रकाश मल्ल तथा वाम गठबन्धनबाट क्षेत्र नं २ (क) मा एमालेका मोहन रेग्मी र खमा नेकपा (माओवादी केन्द्र) का सूर्यप्रसाद गैरेले मनोयन दर्ता गराउनुभएको छ ।

त्यस्तै क्षेत्र नं १ मा काँग्रेसका राजु थापा र वाम गठबन्धनबाट एमालेका नारायण मरासिनीले मनोनयन दर्ता गराउनुभएको छ । क्षेत्र नं १ (क) मा काँग्रेसका कमलप्रसाद पंगेनी र (ख) मा तुलसी गिरी तथा वाम गठबन्धनबाट क्षेत्र नं १ (क) मा माओवादी केन्द्रका दीपक थापा र खमा एमालेका मीनप्रसाद गुरुङले मनोनयन दर्ता गराउनुभएको छ ।

स्याङ्जा क्षेत्र नं १ मा एक लाख आठ हजार ६८९, सोही क्षेत्रको कमा ५३ हजार ३४८ र खमा ५५ हजार ३४१ मतदाता छन् । क्षेत्र नं २ मा एक लाख एक हजार ३४९, सोही क्षेत्रको कमा ४७ हजार २०४ र खमा ५४ हजार १४५ मतदाता छन् ।