धरहरा निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई, निर्माण सुरु हुन नसक्दा अझै पनि आशंका


७ पुस, काठमाडौं । ७२ साल बैशाख १२ गतेको भूकम्पले पूर्ण रुपमा क्षति भएको धरहरा निर्माणको काम अझै सुरु हुन सकेको छैन । सर्वसाधारणबाट धरहरा निर्माणको माग र दबाब भइरहे पनि सरकारले भने कुनै ठोस कदम चाल्न नसक्दा अहिलेसम्म उपलब्धि भएको छैन । कहिले कुन निकाय त कहिले कुना निकायले बनाउने भनि चर्चा गरिए पनि आश्वस्त हुने गरी निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । पछिल्लो समय सरकारले धरहराको पुनर्निर्माणको सम्पूर्ण अधिकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको छ ।

यसअघि निर्माणको जिम्मा दिइएको नेपाल टेलिकम लगानी उठ्ने ग्यारेन्टी नहुने बताउँदै पन्छिएपछि मन्त्रिपरिषद्ले प्राधिकरणमातहत नै निर्माण गर्ने निर्णय लिएको हो । टेलिकमले धरहरा क्षेत्रभित्रै व्यावसायिक स्टल नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निकायमार्फत् नै बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।

मन्त्रिपरिषद्ले आफ्नो प्रस्ताव बमोजिमकै निर्णय गरेर पठाएकाले अब ढिला नगरी निर्माण प्रक्रिया अगाडि बढाउने प्राधिकरणले बताएको छ । निर्माणको जिम्मेवारी पाउको प्राधिकरणले अब तत्काल डिजाइन फाइनल गरेर काम सुरु गर्ने बताएको छ । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा ढलेको उक्त ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्नुपर्नेमा सर्वसाधारणबाट जोड दिदै आएका छन् ।

धरहरा क्षेत्रभित्रै व्यावसायिक मलसहितको संरचना बनाउन पाए निर्माणमा अगाडि बढ्न सकिने टेलिकमको अडानले प्रक्रिया विवादित बनेको थियो । तर, पुरातात्विक क्षेत्रमा त्यसो गर्न दिने पक्षमा पुरातत्व विभाग उभिएपछि प्राधिकरणले हस्तक्षेप गरेर आफैंले निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । निर्माणबाट हात झिके पनि टेलिकमले एक अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता भने कायमै रहेको जनाएको छ ।

सरकारी डिजाइनअनुसार धरहरा निर्माण गर्दा चार अर्ब रुपैयाँ खर्चिनु पर्नेछ । टेलिकमले भने धरहरा क्षेत्रभित्र व्यावसायिक मलसहित सात अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको थियो । स्मारकसहित धरहरालाई आकर्षक पार्कका रुपमा विकास गर्ने पुरातत्व विभागको योजना छ । भाँचिएको धरहराको ठूटोलाई जस्ताको तस्तै संरक्षण गर्ने र त्यसकै अगाडि नयाँ ठड्याउने गरी विभागले डिजाइन तयार छ ।

यसअघि ‘मेरो धरहरा म आफैं बनाउँछु’ अभियानमार्फत् करिब १० करोड रुपैयाँ संकलन भएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायत सुविधा उपलब्ध हुनेछन् । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २१ तलाको हुनेछ । आकस्मिक अवस्थाका लागि र्भयाङको पनि व्यवस्था गरिनेछ । साथै, दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ, जहाँबाट लिफ्ट चढेर टुप्पोमा पुग्न सकिनेछ ।

चर्चा र डिजाइन पटक पटक भए पनि निर्माण सुरु हुन नसक्दा अझै पनि आशंका उब्जिएको छ । यसप्रति सरकार जिम्मेवार बनेर तत्काल निर्माण कार्यको थालनी गर्नु आवश्यक छ ।