कांग्रेसले प्रचण्डलाई फेरि भन्यो,‘पाँच वर्ष ढुक्कले सरकार चलाउनुहोस्, हामी सहयोग गर्छौं’


काठमाडौं, १३ पुस । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी पाँच वर्षको लागि प्रधानमन्त्री बनाउनेगरि नयाँ प्रस्ताव लगेको छ ।

स्रोतका अनुसार कांग्रेसले एमाले–माओवादी केन्द्रको वाम गठबन्धन भत्काउनेगरि नयाँ रणनीति बुनेको छ । सोही अनुसार प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दुत प्रचण्डसमक्ष पुर्याएका छन् । स्रोतका अनुसार कांग्रेसले प्रचण्डलाई पाँच वर्षको लािग प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको छ । कांग्रेस, माओवादी, फोरम र राजपाको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव छ । तर यसबारेमा प्रचण्डले के प्रतिक्रिया दिए भन्ने अहिलेसम्म पनि खुल्न सकेको छैन ।

उता एमालेले आफ्नो नेतृत्वमा माओवादी केन्द्र सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ। एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको छ ।

निर्वाचन आयोगले अन्तिम परिणाम दिएपछि सरकार निर्माणको औपचारिक प्रक्रिया शुरु गर्ने वाम गठबन्धनको तयारी रहेको छ । वाम गठबन्धनका नेताहरुले आफूहरु जनताबाट प्राप्त जनादेशअनुसार पार्टी एकता र सरकार निर्माणमा अघि बढ्ने विश्वास दिलाउँदै आएका छन्।