अदालतको फैसला चित्त नबुझेमा अनशन बस्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ : महासचिव खाती


२९ पुस, काठमाण्डौ । नेपाल बार एसोसियसनका महासचिव खम्बबहादुर खातीले सर्वोच्च अदालतको पक्षमा नेपाल बार एसोसियसन उभिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खातीले अदालतको फैसला चित्त नबुझेमा अनशन बस्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा नेपाल बार रहेको स्पष्ट पारे ।

सर्वोच्च अदालतको आदेशको विरुद्ध र प्रधानन्यायाधिश गोपाल पराजुलीको राजिनामा मागेर अनशन बस्ने काम गरिएकाले त्यसको समर्थन बारले गर्न नसक्ने खातीले स्पष्ट पारे ।

आदलतको आदेश सबैले मान्नुपर्छ भन्ने मान्यतासहित नेपाल बारले विज्ञप्ति निकालेको खातीको दाबी छ ।
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले डा. गोविन्द केसीको मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको थियो ।
अनसन बसेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह गर्दै बारले शुक्रबार विज्ञप्ति निकालेको थियो ।

अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी गर्न पाइने भएपनि व्यक्तिगत लान्छना लगाउनु तथा अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बारले ठहर गरेको थियो ।

आफू अनुकुल आदेश नआउँदा प्रधानन्यायाधीशको राजीनामा माग्दै जाने हो भने प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ समेत बारले सचेत गराएको छ ।
यसै सन्दर्भका कुरा गर्दै महासचिव खातीले अदालतले संयमता अपनाएर केसीलाई साधारण तारेखमा छोडेको दाबी गरे ।

यसैबिच सरकार र गोविन्द केसीबिच सहमति भइसकेको छ । आजै केसीले अनशन तोड्दैछन् ।