माघ २८, काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।
आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११ बजे राष्ट्रपति भवन सितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई परिणाम बुझाएका हुन् ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको हो ।
बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिएको थियो ।
सोही विवरण आयोगले ७ दिन भित्र राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभा निर्वाचनमा एमाले २७ सिटमा विजयी भएर पहिलो दल बन्न सफल भएको थियो । त्यसैगरी नेपाली कांग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी, नेपाल २ र संघीय समाजवादी फोरम, नेपाल २ स्थानमा विजयी भएका छन् ।
५९ सदस्यीय राष्ट्रियसभालाई पूर्णता दिन राष्ट्रपतिले सरकारको सिफारिसमा ३ सदस्य मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम पनि राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेको छ । सबै परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ ।




प्रतिक्रिया