आर्थिक विकासका लागि पूर्वाधार निर्माणमा जोड दिइने : नेपाल


प्वाइन्ट मिडिया प्रालिको छैठौँ वार्षिकोत्सव समारोह
काठमाडौँ, ४ फागुन (रासस) : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले वामपन्थी नेतृत्वको नयाँ सरकारले देशमा छिट्टै आर्थिक विकासका लागि पूर्वाधार निर्माणमा जोड दिइने बताउनुभएको छ ।

प्वाइन्ट मिडिया प्रालिको छैठौँ वार्षिकोत्सव समारोहमा उहाँले अब नेपालमा राजनीतिक अस्थिरता सदाका लागि अन्त्य गर्नुपर्ने र हाम्रो सामूहिक प्रयास देश विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

नेता नेपालले मुलुकमा समृद्धिको ढोका खोल्न सरकारले पूर्वाधार निर्माणका क्षेत्रमा नीतिगत निर्णय लिने बताउनुभयो ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले देशको विकासका लागि अर्थतन्त्रको ठूलो हिस्सा पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने उल्लेख गर्दै वामपन्थी नेतृत्वको नयाँ सरकारले विपक्षी दललाई भेदभाव गरिएमा मुलुकमा विकास सम्भव नहुने बताउनुभयो ।

अब नेपालमा स्थिर तथा कानूनी राज्यको शासन हुनुपर्नेमा जोड दिदैं उहाँले क्षमता र योग्यताका आधारमा उद्योग व्यवसायीलाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।

प्वाइन्ट मिडिया प्रालिका अध्यक्ष नवीन काफ्लेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
–––