काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले दलको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले दोस्रो पुस्ताको नेतालाई अघि सार्नुपर्ने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले संसदीय दलको नेतामा सभापति देउवाले आफूलाई अघि सार्न नहुने धारणा राखे । उनले भने,‘सभापतिले अब संसदीय दलको नेता बन्न जोड गर्नुहुँदैन्, बरु उहाँले अब दोस्रो पुस्ताको नेतालाई दिनुपर्छ।’ यादवले सकेसम्म दलको नेता सर्वसम्मतीमा चयन गरिने पनि विश्वास दिलाए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिलेको जनमतलाई सम्मान गर्दै आफूहरु आगामी पाँच वर्षसम्म सशक्त प्रतिपक्षको भूमिकामा बस्ने विश्वास दिलाए ।
उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई हामी गुण र दोषका आधारमा समर्थन वा विरोध गर्छौं।’ उनले वाम गठबन्धनको सरकारले जनतामा गरेको वाचा अनुसार काम गर्नको लागि आफूहरुको शुभकामना दिए ।
निवर्तमान मन्त्री समेत रहेका यादवले भने,‘स्थायी सरकार बनोस्, संविधानहित अनुसार सरकारले काम गरोस्, मुलुकलाई समृद्धितिर डोर्याओस्।’




प्रतिक्रिया