एकीकृत घुम्ती शिविरका कारण स्थानीय हर्षित


डडेल्धुरा, १३ फागुन (रासस) : डडेल्धुरा आलिताल गाउँपालिकामा एकदिने एकीकृत घुम्ती शिविरको आयोजनाले स्थानीय बासिन्दा हर्षित भएका छन् ।

जिल्ला सदरमुकाममा पाइने सम्पूर्ण सेवा आफ्नै घरदैलोमा पाएपछि आलिताल गाउँपालिका १ र २ वडाका स्थानीय सेवाग्राही दंग परेका हुन् ।

दुर्गमका साथै आर्थिक अभावका कारण जिल्ला सदरमुकाममा पाइने सेवा सुविधा लिनबाट वञ्चित भएकालाई उनकै घरदैलोमा एकै स्थानबाट सेवा दिनका लागि एकीकृत घुम्ती शिविर आयोजना गरिएको हो । जिल्लास्थित गरुड दल गण र उपक्षेत्रीय अस्पताल डडेल्धुराका चिकित्सकले घुम्ती शिविरमा स्वास्थ्य परीक्षण गर्नाका साथै निःशुल्क औषधि वितरण गरेका थिए ।

अहेवबाट समेत स्वास्थ्य परीक्षण गराउन नपाउने यहाँका स्थानीय बासिन्दा चिकित्कबाट स्वास्थ्य परीक्षण गराउन पाउँदा झनै खुशी भएको स्थानीयवासी रघुवीर धामीले बताउनुभयो । शिविरका कारण महिला, बालबालिक, वृद्धवृद्धा र शारीरिक रुपमा अशक्तलाई राहत मिलेको थियो । घर नजिकै ठूला चिकित्सकबाट जाँच गर्न पाउँदा हर्षित बनेको अर्का स्थानीयवासी राजमती बोहराले बताउनुभयो ।

शिविरमा स्वास्थ्य परीक्षणका साथै नागकिता, तरकारीको बीउबिजन वितरण, अपाङ्गता परिचयपत्र, पशुको उपचारको समेत सेवा दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दुर्गम क्षेत्र र गरिबीका कारण जिल्ला सदरमुकामसम्म पुग्न नसक्ने स्थानीय बासिन्दाको घरदैलोमै गई जिल्लास्थित सरकारी कार्यालयबाट एकै स्थानमा विभिन्न किसिमका सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको संयोजनमा शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताउनुभयो ।

उक्त कार्यालयका साथै जिल्ला पशुसेवा कार्यालय, उपक्षेत्रीय अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, जिल्ला कृषि विकास कार्यालय, महिला विकास कार्यालय र जिल्लास्थित गरुड दल गणले आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताउनुभयो । शिविरमा स्थानीय बासिन्दाकोे उल्लेख्य सहभागिता थियो ।
किसानलाई हौसला दिन कृषि सामग्री वितरण

किसानलाई हौसला दिनका लागि जिल्लाका विभिन्न कृषक सहकारीलाई स्थानीय कृषि विकासले कृषि सामग्री प्रदान गरेको छ ।
उक्त बैंक ५१औँ वर्षमा प्रवेश गरेको अबसरमा आज अमरगढी नगर क्षेत्रका तीन समूहका किसानलाई घाँस काट्ने ग्रास कटर छ थान, पानी झारी १५ थान र तरकारी राख्ने प्लास्टिक टोकरी (क्रेट) १५ थान वितरण गरिएको बैंकका शाखा प्रबन्धक चक्रवीर भण्डारीले बताउनुभयो ।

सामग्री हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत लीला प्रकाश सिटौलाले डडेल्धुरा कृषि उपजका लागि सम्भाव्य जिल्ला भएकाले यहाँका कृषकलाई प्रोत्साहन गर्न सामग्री प्रदान गरिएको बताउनुभयो । बैंकको सेवा सुविधा सदुपयोग गर्न र यस बैकले विभिन्न सेवा सुविधा दिइरहेकाले बचतको बानी बसाउन पनि उहाँले जोड दिनुभयो ।

यस क्षेत्रका किसानलाई बैंकले बाली बीमा, पशु बीमालगायत किसानको हितमा दशकौँदेखि आवश्यक सहयोग गरिरहेको यस बैंकले यस पटक पनि कृषकलाई थप जिम्मेवार र व्यवसायिकीकरणतर्फ उन्मुख गराउने काम गरिरहेको बैंकका क्षेत्रीय निर्देशक ध्रुवचन्द्र गौतमले जानकारी गराउनुभयो ।

उक्त बैंकले जिल्लामा रु २४ करोड लगानी गरेकामा छ करोड किसानको हितमा प्रयोग गरेको शाखा प्रबन्धक चक्रवीर भण्डारीले बताउनुभयो ।