धार्मिक पर्यटकीय विकास सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री राउत


महेन्द्रनगर, धनुषा, १० वैशाख  : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले धार्मिक पर्यटकीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनु्भएको छ ।

जानकी नवमीका अवसरमा रामायण सर्किटले जनकपुरधाममा आज आयोजना गरेको रामायण मेलाको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “यो प्रदेश विकासको प्रमुख आधार धार्मिक पर्यटन रहेकाले यसको विकास तथा विस्तारका लागि सरकार प्रतिबद्ध छ ।”

मुख्यमन्त्री राउतले जानकी मन्दिरलाई आधार बनाएर धार्मिक सर्किटको योजना सरकारले सार्वजनिक गरिसकेको उल्लेख गर्दै प्रदेशभित्र रहेको सबै धार्मिकस्थल तथा क्षेत्रलाई एउटै सर्किटमा जोडेर विकास गर्ने बताउनुभयो ।

भारत सरकारको पहलमा निर्माण हुन लागेको रामायण सर्किटले जनकपुर र अयोध्यालाई मात्र जोडेको बताउँदै उहाँले त्यसलाई विस्तार गरी भारतका अन्य धार्मिकस्थलसँग समेत जोडने योजना ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले एतिहासिक तथा धार्मिक महत्वका जानकी मन्दिरको विकास र विश्वसम्पदा सूचीमा सूचीकृत गराउन प्रदेश सरकारले हर सम्भव प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मेलाको उद्घाटन प्रदेश नं. २ प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले संयुक्त रुपमा गर्नुभएको थियो । माता जानकीको जन्मोत्सवमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणासमेत गरेको छ । (रासस)