वैशाख १२, काठमाण्डौ । नेकपा एमालेका नेता तथा सचिव योगेश भट्टराईले पार्टी एकताको मिति तोक्न सकिने अवस्था नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले छिटै एकता हुने दाबी गरे पनि मिति घोषणा हुन नसक्ने बताएका हुन् ।
वैशाख महिनाभित्र नै एकता गर्ने कोसिस भइरहेको भन्दै भट्टराईले गृहकार्य भइरहेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि एकता गर्न लागिएको हो भन्ने प्रश्नमा उनले मोदीको नेपाल भ्रमणसँग एकताको कुनै सम्बन्ध नरहेको बताए ।
एकता गरिसकेपछि विभाजनको स्थिती नआओस भन्ने उद्देश्यले दुई पार्टीबिच एकता गर्न लागिएकाले सुदृढ तरिकाले अगाडि बढ्न लागिएको उनले बताए ।
अत्यन्तै अस्भाविक अवस्था आए पनि मिलाएर पार्टी एकता गर्छौ भनेर एमाले अध्यक्ष केपी ओलीले भनेको कुरा स्मरण गराउँदै भट्टराईले समान्य विवादले पार्टी एकता नरोकिने बताए ।
वैशाख नौ गतेको कार्यक्रममा भएको ब्यानरसम्बन्धी विवादलाई गम्भीरतापूर्वक लिएको उनले बताए । त्यस्ता विवादलाई टालटुल पारेर लक्ष्य हासिल गर्ने उनको दाबी छ ।
नेताहरुको जुँगाहरुको व्यवस्थापन गरेर भविष्यमा विवाद नहुने गरी एकता गर्नुपर्ने भएकाले केही समय ढिला भएको भट्टराईको तर्क छ ।
माओवादी अध्यक्ष प्रचण्डलाई आत्मसमर्पण गराएर माओवादीलाई एमालेमा विलय गराउन खोजेको भन्ने आरोपको खण्डन गर्दै उनले भने, “प्रचण्ड विलय हुन आउने पनि होइन, केपी ओली विलय हुन जाने पनि होइन । सम्मानजनक, समानता र न्यायको आधारमा पार्टी एकता गर्ने सहमति भएको प्रचण्डले नै भनिसक्नभएको छ ।”
संसदीय व्यवस्थामा जस्तो टाउको गनेर अंकगणितको हिसाब निकालेर पार्टी एकता नुहने उनले स्पष्ट पारे । भावना र सम्वेदनालाई मिलाएर एकता हुने उनको तर्क छ ।
वैशाख नौ गते एकता गर्ने भनिए पनि त्यो सफल हुन नसक्दा जनतामा उत्साह घटेको भन्दै उनले अब छिटै एकता गरिने दाबी गरे ।




प्रतिक्रिया