प्रधानमन्त्री ओलीको भ्रमण सफल हुन्छ : डा. चालिसे


काठमाडौं, २ असार । परराष्ट्रविद एवम् पूर्व राजदुत डा. सुरेशचन्द्र चालिसेले प्रधानमन्त्रीको भ्रमण सफल हुने विश्वास दिलाए । प्रधानमन्त्रीको चीन भ्रमण सफल हुने प्रशस्तै आधारहरु रहेको उनले विश्वास दिलाए ।

प्रधानमन्त्रीको चीन भ्रमणको पूर्व सन्ध्यामा शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो सरकारसँग म्याण्डेट छ, स्थायी सरकार बनेको छ, राजनीतिक स्थायित्व छ, अहिले धेरै राम्रो वातावरण छ, त्यसैले प्रधानमन्त्रीको चीन भ्रमण सफल हुन्छ।’

उनले नेपालमा चीनको रेल आएपनि हामीले यहाँबाट के पठाउने भन्नेबारे सोच्नुपर्ने पनि बताए । यसअघि चीनसँग भएको पारवाहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्न यसपटक प्रधानमन्त्री ओलीको भ्रमणमा प्रोटोकलमा हस्ताक्षर हुन लागेको कुरा सुन्नमा आएकोले यो स्वागतयोग्य रहेको उनको भनाई थियो ।

उनले भने,‘नेपालको विकासको साँचो भनेको नै पर्यटन हो, तर यसको लागि हामीले हाईड्रोको विकास गर्नुपर्छ।’ उनले अहिले नेपालमा स्थायी सरकार भएकोले सरकारले धेरै काम गर्न सक्ने जनतामा विश्वास रहेको पनिसुनाए ।

‘अब संक्रमण सकियो, समृद्धिको युग सुरु भएको छ’ उनले भने,‘तर अहिले फेरि राजनीतिक व्यवस्था कस्तो हुने भन्नेबारे बहस सुरु भएको छ, यसले कतै आशंका पैदा गर्ने हो कि भन्ने डर छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ् उनबीच हालै सिंगापुरमा भएको वार्ताले अहिले विश्वमै राम्रो वातावरण बनाएको पनि चालिसले बताए ।