सुदूरपश्चिममा देउवाको सिन्डिकेट, महाधिवेशनमा हिसाबकिताब खोजिने


असार ४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा प्रदेश नम्बर ७ का सासंद भरतबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले देउवाले गुटगत रुपमा नेतृत्व गरेको जिकिर गरे ।

“उहाँ असफल भइसक्नुभएको छ । उहाँ नेपाली कांग्रेसको मात्रै सभापति होइन, मुलुककै राजनेता बनेनन् भन्ने हाम्रो चिन्ता हो । तर उहाँ त कांग्रेभित्र पनि एउटा गुटको मात्रै सभापति बन्नुभयो ।” खड्काले भने ।

सुदूरपश्चिम क्षेत्रमा देउवाले सिन्डिकेट लाद्ने गरेको अरोपसमेत खड्काले लगाए । “यति ठूलो सिन्डिकेट छ, जुन चिर्न त्यति सजिलो छैन । उहाँको कार्यशैलीले नै कांग्रेस कमजोर भएको हो ।” उनले भने ।

देशैभरी देउवाले गलत तरिकाले नेतृत्व गरेको आरोप लगाउँदै उनले सुदूरपश्चिममा आफूहरुका लागि बहुदल नै नआएको गुनासो गरे ।

“यहाँ त प्रजातन्त्र आएकै छैन । सुदूरपश्चिममा अर्थात सात नम्बर प्रदेशमा त उहाँको सिन्डिकेट छ । कांग्रेसभित्र हामीलाई प्रजातन्त्र आएको छैन ।” खड्काले भने ।

देउवाले प्रधानमन्त्री हुँदा पनि कुनै राम्रो काम गर्न नसकेको उनको आरोप छ । अनुशासन र विधिको उल्लंघन गरेर देश र पार्टीलाई कमजोर बनाएको खड्काको जिकिर छ ।

“चारपटक प्रधानमन्त्री हुँदा मुलुकम केही गर्न सक्नुपथ्र्यो । न सुशासन छ, न कार्यकर्तालाई अभिभावकत्व छ । उहाँ पुरै असफल हुनुभयो ।”

देउवाको सिन्डिकेट तोड्ने प्रयासमा आफूहरु लागिपरेको उनको भनाई थियो । अब हुने महाधिवेशनले सबै हिसाबकिताब गर्ने चेतावनी खड्काले दिएका छन् ।