कतै झरी, कतै भेल त कतै बाढी, कतै पहिरो । यी र यस्तै खालका प्राकृतिक विपत्तिहरु अहिलेको अवस्थामा नेपालीहरुले व्यहोरिरहेका पीडा हुन । भारी वर्षाका कारण जाँजरकोटमा त केही समयअघि पहिरोमा परि करिब एक दर्जन मानिसले अकालमा ज्यान गुमाउनुपर्यो । प्राकृतिक विपत्तिकाकारण देशभरका विभिन्न स्थानहरुमा धनजनको क्षति भैरहेको छ ।
शरद, बशन्त, शिशिर, हेमन्त, वर्षात, ग्रिस्म ऋतु गरेर ६ वटा ऋतुहरुको उपलब्धता रहेको हाम्रो मुलुकमा मौसम अनुसारको हावापानी छ । वर्तमान समय वर्षातको भएका कारण केही प्राकृतिक विपत्तिसँगै स्वास्थ्यमा प्रतिकुल असर पर्ने अवस्था हो ।
खानपानमा ध्यान नदिने हो भने स्थास्थ्यमा पक्कै प्रतिकुल असर पर्छ नै । त्यस्तै प्राकृतिक प्रकोपबाट जोगिनको लागि खोला किनारामा भएका बस्तिहरु, पहिरोको जोखिममा रहेका वस्तिहरु र डुबानमा पर्ने बस्तिहरुको बारेमा सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।

कुरा मंगरबार भदौ ५ गतेको हो । प्रदर्शनीमार्ग भृकुटीमण्डपस्थित् रिपोर्टर्स क्लब नेपालको केन्द्रीय कार्यालयबाट व्यक्तिगत कामले पुतलीसडक जानुपर्ने भयो । स्वास्थ्यमा केही खराबीका कारण अघिल्ला दिनहरुमा जस्तै फुर्तिलो ज्यान थिएन । भृकुटीमण्डपको मुख्य गेटसम्म पुग्दा रिमझिम–रिमझिम पानी पर्न सूरु गर्यो । मलाई हतार थियो । त्यसैमाथि स्वास्थ्य प्रतिकुल स्थितिमा थियो ।
नेपाल पुलिस क्लबको सामुन्नेमा तलदेखि माथिसम्म लस्करै ट्याक्सीहरुको लाईन हुन्छ । लाग्छ जुन ट्याक्सिलाई सोधेपनि गन्तव्यमा पुर्याउछन् । कुनै नाई नास्ति गर्दैनन् । सत्य त्यो नहुनपनि सक्छ । रुघाखोकिले ग्रस्त भएको स्थितिमा पानीमा भिज्दा झनै समस्या होलाकी भन्ने पीरले पुतली सडकको स्टार मलनजिक पुग्नको लागि ट्याक्सी रोज्न पुगे ।
दुई जना ट्याक्सी चालकलाई अनुरोध गरें । तर, उनीहरुले नजाने बताए । आफ्नो व्यक्तिगत रुपमा किनेको ट्याक्सी भएपनि कानून, नियम, अवस्थाअनुसार सेवा दिनुपर्छ भन्ने मेरो मान्यता हो । म तेस्रो ट्याक्सी नजिक पुगें । जुन ट्याक्सीमा मधेशका दाजु थिए ।
उनको बोलाईको लवज र प्रस्तुतीकरणले मैले मधेशी दाजु रहेछन् भन्ने मनमनै सोचें । उनले सोधे, मैले बताए । उनले बस्नुहोस् भने । मैले सोचे अघिल्ला दुईवटा ट्याक्सिमा बसेका र आफूलाई टोपी लगाउने ट्याक्सी चालक भन्दै गर्व गर्नेभन्दा धोती लगाउने समुदायका ट्याक्सी चालक कति समझदार ? कति असल ? कति सरल ? कति ज्ञानी ? हुन त आफूलाई समस्या परेको बेला कुनै व्यक्तिबाट साथ पाउँदा यस्ता प्रशसाहरु जन्मिनु स्वभाविक छ ।
सुन लगाउन जसले पनि सक्ला ! तर गुन लगाउन जो कोहीले सक्दैन ! यो अर्को सत्य हो । भृकुटीमण्डप र पुतलीसडक नजिकै भएको कारण अघिल्ला टोपीवाला ट्याक्सीले मेरो अनुरोधलाई पैसामा तुलना गरे । यति नजिक, कति दिने ? के गर्नेजस्ता कुराहरु उठे । ट्याक्सी मिटरमा चल्नुपर्छ । दुरीनजिक भन्दैमा कानून मिच्न कसैले पाईदैन । मैले आफ्नो अवस्थाका बारेमा बताए । टोपीवाला ट्याक्सीले मरो आग्रहलाई अस्विकार गरें ।
तर धोती लगाउने ट्याक्सीले मेरो आग्रहलाई सहजै स्वीकार गर्यो । मलाई गन्तव्यसम्म पुर्यायो । म भिज्नबाट जोगिए । हिमाल, पहाड, तराई-मधेशमा आदि अनादिकालदेखि बस्दै आएका नेपालीहरु टोपी लगाउने र धोती लगाउने बिभाजित भएको स्थिति छ ।
मैथली, भोजपुरी, अवधिजस्ता भाषा बोल्ने मधेशी समुदायले हेपेर भैया भन्छन् । मेरो मन दुख्छ । कालो छाला भएको मधेशी समुदायको कोही व्यक्तिलाई हेपेर भैया भन्छन् । त्यतिखेर मानिसहरुको स्तर नाप्न मन लाग्दो रहेछ । ‘भैया’ हिन्दी शब्द हो ।
टोपीको फूर्ति लगाउनेहरुले मधेशी दाजुभाईलाई हेपेर भन्नुनै छ भनेपनि नेपालीमा भन्न सक्दैनन् । हिन्दीमा हेप्छन् । हिन्दी शब्द ‘भैया’ सम्मानित शब्द हो । तर नेपालका टोपी लगाउनेहरुले त्यसको दुरुपयोग गरेका छन् भन्ने मेरो बुझाई हो ।
२१ औं शताब्दीमा धोती र टोपीबीचको दुरी नाप्न खोजियो भने हामी कहाँ पुग्छौं ? एक कुनाको नेपालीलाई आयातित शब्दले अपमान गर्न थाल्यौं भने हाम्रो सामिप्यताको रंग गाढा रहन्छ ? धोती र टोपी शब्द यस प्रसँगमा अपवादका रुपमा आएपनि अर्थ र कथा साँच्चै रोचक छ ।
ट्याक्सी चालक धर्मेस महतो
गुन लगाउने ट्याक्सी चालक थिए, प्रदेश नम्बर २ धुनुषा जिल्लाको धुनुषाधाम नपाका वडा नम्बर ४ का ४३ वर्षीय धर्मेस महतो । संघीय राजधानी काठमाडौंको तार्केश्वरमा बस्दै आएका महतोका दुई सन्तान छन् । ४ जना दाजुभाईमध्ये उनी कान्छा भाई हुन । महतोका जेठो दाई धनुषामै खेतिपाती गर्छन् । माईलो दाई र साईलो दाई रोजगारको सिलसिलामा खाँडी मुलुकमा छन् ।
बुवाको निधनपछि विद्युवा बनेकी बुढि आमाको रेखदेख, सन्तानको पढाई लेखाई, स्याहारसुसारमा आफ्नो जीवन संगीनी खट्ने गरेको महतो बताउँछन् । महतोका कुरा सन्दै गर्दा लाग्छ उनको परिवार खुशि छ । सुखि छ ।
महतो जीवनका ४३ औं वसन्तहरुमा दुःख अभाव र संघर्षसँग खुब जुध्नु परेको बताउँछन् । उच्च शिक्षा हाँसिल गर्न २०५६ सालमा काठमाडौं आएका महतोले स्नातकसम्मको अध्ययन गरेका छन् । जीवनका हरेक पाईलामा नयाँ परिभाषाको जन्म हुन्छ । यो सत्य महतोको जीवनमा लागू नहुने कुरै भएन ।

महतोले स्नातकसम्मको अध्ययन हाँसिल गर्दाको क्रममै तार्केश्वर नपा बोहराटारमा रहेको आशा बोर्डिङ स्कुलमा शिक्षण पेशा अँगाल्न पुगे । १३ वर्षसम्मको शिक्षण पेशबाट पनि घरपरिवार र आफ्ना आधारभूत आवश्यकताहरु पूरा हुने नदेखेपछि उनी बिदेश पलायन हुनसमेत बाध्य भएका थिए ।
दुवईमा ९ वर्षसम्म ट्याक्सी चालकको रुपमा काम गरेर स्वदेश फर्केका महतो बाँकी जिन्दगी ट्याक्सी पेशा र स्वदेशमा बिताउनेमा पुगेका छन् । ट्याक्सी चालकहरुको हकमाभन्दा उपत्यकामा बिरलै रुपमा मधेशी समुदायका व्यक्तिहरु भेटिन्छन् ।
धर्मेसले पनि आफू औलामा गन्न सकिनेमात्रै मधेशी समुदायका ट्याक्सी चालक भएको सुनाए । मैलेपनि पहिलोपटक ट्याक्सी चालकको रुपमा मधेशी समूदायबाट महतोलाई भेटेको हुँ । दुबई र नेपालको ट्राफिक नियम, सडकलगायतका विषयमा उनको फरक मत छ ।

दुवईमा कानूनको उलेख्य पालना भएको उनको दाबी छ । उनी भन्छन्,‘दुवईमा नियमको पालना गर्छन्, ट्याक्सि चलाउन सजिलो छ, यहाँ त कोही कसैलाई टेर्ने होईन, नियमको पालना गर्ने होईन, बाईकहरुले सबैभन्दा बढि ओभरटेक गर्ने, ट्याक्सि चलाउन बहुत गाह्रो छ ।’
प्रसंग उही पुरानै । प्रर्दशनीमार्ग भृकुटीमण्डपबाट ट्याक्सि मिटरमा गुडेको कारण गन्तव्यमा पुग्दा जम्मा ४५ रुपैयाँ बिल आयो । मैले सय रुपैयाँ झिकेर दिए । उनले ६० रुपैयाँ फिर्ता दिन खोज मैले राख्न भने । यात्रा लामो दुरीका हुन या छोटो दुरीका । तर कथाहरु निक्कै लामा हुँदा रहेछन् ।
छाला, जात र रुप अनुसार मानिसको आयू नाप्नु आँफैमा मुर्खता हो । पर्दा र मर्दाको समयमा लगाएका गुन तिर्नै महंगो हुन्छ । मानिसले जे चाहन्छ,त्यो कुरा कलमले लेख्न नसक्ला, कलमले जे लेख्ला त्यो मानिसले नचाहेको हुनसक्छ । सयौं थुङ्गा फूलका हामी नेपालीहरु सैब धर्मेस महतोजस्तै सहयोगी र ज्ञानी बनौं ।
‘कलम बनेर ज्ञान बाढौं,गुलाव बनेर प्रेम।’
तस्बिर-मुकुन्द कालिकोटे




प्रतिक्रिया