सशस्त्र प्रहरीलाई अन्यत्र सारेर खेलमैदान खाली गर्न माग

0
Shares

कुश्मा । पर्वत सदरमुकाम कुश्मा नगरपालिका–५ बडागाउँस्थित सशस्त्र प्रहरीले प्रयोग गर्दैै आइरहेको पुरानो खेलमैदान फिर्ता गर्न पहल शुरु गरिएको छ ।

बडागाउँ चौर २०५८ सालदेखि सशस्त्र प्रहरी बलको चण्डिका गणले प्रयोग गर्दै आएको छ । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा सशस्त्र प्रहरीले सो चौर प्रयोग गरेको हो । विभिन्न खेल प्रतियोगिता हुने मैदानलाई पुनः प्रयोगमा ल्याई सशस्त्र प्रहरीलाई अन्यत्र स्थानन्तरण गर्न स्थानीयवासीले माग गर्दै आएका छन् ।

स्थानीयवासीका अनुसार ८३ रोपनी जग्गा जिल्ला खेलकूद विकास समितिको नाममा रहेको छ । हाल त्यहाँ तैनाथ चण्डिका गणले धौलागिरिका चार जिल्ला हेर्दै आएको छ । सो मैदानबारे कुश्माका बासिन्दाले पटक–पटक सम्बन्धित विभाग, मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म लिखित र मौखिक जानकारी गराइसकेका छन् ।

अहिले त्यसबारे छलफल भइरहेको जिल्ला समन्वय समितिका संयोजक मनोहर पौडेलले बताए । “सदरमुकाममा खेलमैदानको अभाव छ, शसस्त्र प्रहरीले मैदान ओगट्दा खेलकूद गतिविधि शून्य भएको छ,” उनी बताउन्छन। विसं २०५८ अघिसम्म जिल्लामा आयोजना गरिने खेल गतिविधि र सार्वजनिक कार्यक्रम सो मैदानमा गरिँदै आएको थियो । अहिले सार्वजनिक कार्यक्रम गर्न खुला चौरको अभाव छ ।

खुला चौरको अभावमा बान्द्रेबिंडीस्थित साँघुरो चौरमा अहिले विभिन्न कार्यक्रम गर्ने गरिएको छ । उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हरिओम शर्मा लामिछाने यहाँको पहिचान भनेकै खेल मैदान भएको बताउन्छन।

खेलमैदान नहुँदा धौलागिरिकै खेल गतिविधिमा बाधा पुगेको छ,” उनले बताए जिल्ला वन कार्यालय, कर्मचारी मिलन केन्द्र, साविक जिल्ला विकास समिति र पशुसेवा कार्यालयको नाममा रहेको जग्गा उपयोग गरी चण्डिका गण स्थानान्तरण गर्न सकिने अवस्था छ । सो जग्गा अपुग भए स्थानीय बडागाउँ सामुदायिक वनको केही जग्गासमेत उपयोगमा ल्याउन सकिने वन उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र पौडेल बताउन्छन ।