बामदेव गौतम चुनाव लड्नेबारे निर्णय भइसकेको छैन : ज्ञवाली


असोज २३, काठमाण्डौ । नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने चर्चा छ । यसअघि डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन खोजे पनि त्यो सफल हुन सकेको थिएन । पछिल्लो समय वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने चर्चा सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता युवराज ज्ञवालीले भने रामवीर मानन्धर राजिनामा दिन तयार भइसकेको पुष्टी गरेनन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले सचिवालय बैठकमा सामान्य छलफल भयो भन्ने कुरा बाहिर चर्चा भएपछि मात्रै आफूले थाहा पाएको बताए ।

“पार्टीले निर्णय गर्यो भने र सम्बन्धित उम्मेदवार राजिनामा दिन तयार हुने हो भने असम्भव छैन ।” ज्ञवालीले भने ।

तर रामवीरले राजिनामा दिने वा नदिने कुरा उनमै भर पर्ने ज्ञवालीको तर्क छ ।

गत वर्ष भएको चुनावमा गौतम बर्दियाबाट पराजित भएका थिए । कांग्रेस उम्मेदवार संजय गौतमसँग पराजित गौतमलाई जसरी पनि प्रतिनिधीसभामा प्रवेश गराउने रणनीतिमा नेकपा देखिन्छ ।

ज्ञवालीले सचिवालय बैठकमा छलफल भए पनि स्थायी कमिटिमा छलफल नभएसम्म यसबारे यकिनका साथ केही भन्न नसकिने बताए ।

अब बस्ने स्थायी कमिटिको बैठकमा यसबारे छलफल गरिने ज्ञवालीले बताए ।