नेपालले आज सिङ्गापुरविरुद्ध प्रतिस्पर्धा गर्दै

0
Shares

असोज २६, काठमाडौँ । आइिसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा नेपालले आज सिङ्गापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

मलेशियाको रजाधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदानमा नेपाल र सिङ्गापुरबीचको खेल मध्याह्न शुरु भएको छ । एशिया छनोट समूह ‘बी’ बाट दोस्रो चरणको छनोटमा पुगिसकेका नेपाल र सिङ्गापुरका लागि आजको प्रतिस्पर्धा उपाधि रक्षाका लागि हुँदैछ । आजको विजेता प्रतियोगिताको विजेता बन्नेछ । नेपालको लक्ष्य पनि आजको खेल जित्दै उपाधिसहित दोस्रो चरणमा मलेसियामा रहेको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन ।

अघिल्ला पाँच खेलमा लगातार जीत निकालेको नेपालले अन्तिम खेलमा सिङ्गापुरसँग खेल्न लागेको हो । नेपालले प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यानमालाई जम्मा १८ बल खेलेर आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीनलाई पराजित गरेको थियो ।

यसअघिका सबै पाँच खेलमा सिङ्गापुर पनि विजयी बन्दै उच्च मनोबलसाथ मैदानमा उत्रदै छ । नेपाल र सिङ्गापुरले समान पाँच खेलबाट १०÷१० अङ्क जोडेका छन् । रनरेटको आधारमा नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । नेपालले टी–२० मा सिङ्गापुरविरुद्ध पछिल्लो पटक सन् २०१३ मा खेलेको थियो । एसिसी टी–२० अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उक्त खेलमा नेपालले १२१ रनको जीत निकालेको थियो ।
गत महिना मलेसियामा भएको ५० ओभरको खेलमा पनि नेपालले सिङ्गापुरलाई ४ विकेटले हराएको थियो । यस छनोटबाट नेपाल र सिङ्गापुरले दोस्रो चरणको छनोट स्थान बनाउँदा अर्को एक टोलीको तय हुन बाँकी छ । छनोटबाट शीर्ष तीन टोलीले एशिया छनोटको दोस्रा ेचरणमा स्थान बनाउने छन् । एशिया छनोटमा सात टोलीले खेल्नेछन् । तेस्रो स्थानका लागि भने मलेसिया र थाइल्याण्डबीचको प्रतिस्पर्धा पछि रहेको छ । तेस्रो स्थानको थाइल्याण्डले सबै खेल खेल्दै सात अङ्क जोडेको छ । तर चांैथो स्थानको मलेसियाले आज चीनसँग खेल्दैछ । मलेसियाले चीनलाई पराजित गरेमा दोस्रो चरणमा स्थान बनाउने छ ।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएइ, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।रासस