काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रिय फुटबल स्टार थिएरी हेनरी फ्रान्सेली क्लब मोनाकोका मुख्य प्रशिक्षक भएका छन् । हेनरी सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दाका मुख्य खेलाडी थिए । उनी जिनेदिन जिदानपछिका सफल खेलाडी मानिन्छन् ।
यसअघि बेल्जियम राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका हेनरीलाई मोनाकोले २०२१ जुन अन्त्यसम्मका लागि आबद्ध गरेको हो ।
हेनरीले मोनाकोबाट सन् १९९४ देखि १९९९ सम्म ५ वर्ष खेल्दै लिग वन उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । हाल लिग वनमा पुछारबाट तेस्रो स्थानमा रहेको मोनाकोले यसै बिहीबारमात्र पूर्व प्रशिक्षक लियोनार्डो जर्डीमलाई बर्खास्त गरेको थियो ।
‘मेरो प्रशिक्षण जीवन मोनाकोबाट सुरु गर्न पाउनुमा आफुलाई भाग्यमानी ठानेको छु’, आर्सनलका लागि कीर्तिमानी गोल गरेका हेनरीले बताए ।
युभेन्टस, बार्सिलोना र न्यूयोर्कबाट पनि व्यावसायिक फुटबल खेलिसकेका हेनरीलाई एस्टन भिल्लाबाट पनि प्रशिक्षकको भूमिका निर्वाह गर्न प्रस्ताव आएको बताइएको छ ।




प्रतिक्रिया