‘आँखा गुमाउँदा पनि बाघ संरक्षणमा लागेँ’

0
Shares

बाँके, ५ कात्तिक । सूर्यपटुवा–४, बर्दियाका भदै थारु प्रकृतिप्रेमीका रुपमा चिनिनुहुन्छ । प्रकृतिमै रमाउने, प्रकृतिसँगै गुनगुनाउने उहाँ सजिलै शब्द सङ्कलन गर्दै प्रकृतिका गीत गाउन खपिस भएपनि हालसम्म कुनै एल्वम भने निकाल्नु भएको छैन । कर्णाली नदीको कोठियाघाटमा पुल बनेपछि भदैले यस्तो गीत बनाउनुभयो ।

‘हात्ती गैँडा हेर साली खाता करिडोरमा
मायाप्रिती लगाउ साली डल्ला होमस्टेमा
सारी ब्लाउज किन साली ओराली बजारमा
आउ फोटो खिचाउँ साली कोठियाघाट पुलमा ।’

सामान्य पढ्न लेख्न जानेपनि पढ्न नपाएकामा निकै पछुताउनुभएका उहाँ भन्नुहुन्छ, “बुबाले गाईसँग बाख्रा साटेपछि गोठालो भएँ । तीन कक्षाभन्दा धेरै पढ्न पाइँन । कम्तीमा १० कक्षासम्म मात्रै पढ्न पाएको भए म ठूलो मान्छे हुन्थेँ । पढ्न नपाएकामा निकै दुःखी छु ।”

एघार वर्षसम्म कमैया बस्नुभएका भदै कमैया मुक्त भइसकेपछि खरखरिया खन्ने क्रममा विसं २०६० मा बाघको आक्रमणमा पर्नुभयो । बाघको पञ्जा बायाँ आँखामा पर्दा आँखै गुमाएर बल्लतल्ल बाँच्नुभएका उहाँ अहिले वन्यजन्तु र जैविक विविधता जोगाउन संरक्षणका गीत गाउँदै हिँडनुहुन्छ ।

‘भारतको बाघ नेपालमा आउने,
नेपालको बाघसँग मायाप्रिती लाउने ।
उनीहरूको मायाप्रिती नछुटाऊँ
बाघ हिँड्ने बाटोमा बाधा नपु¥याऊँ १’

उहाँले बाघ संरक्षणका लागि यो गीत गाउनुभएको हो । “जनावरको खुशीमा हामी किन रमाउन सक्दैनौँ रु मान्छेले जस्तै अन्य जनावरमा मायाप्रिती हुँदैन र रु भारतको हात्तीले हाम्रो हात्तीसँग माया लाउछ । भारतको बाघले हाम्रो बाघसँग बिहे गर्छ । हामी किन उनीहरुको माया प्रितीमा बाधक बन्छौँ रु”, उहाँको प्रश्न थियो ।

बाघका कारण आँखा गुमेपछि पीडामा पर्नुभएका भदैले भन्नुभयोे, “पहिले त मलाई आक्रमण गर्ने बाघलाई खोजीखोजी मारौँ जस्तो लाग्थ्यो तर पछि बाघलाई नै आपत् परेर जोगिन मलाई आक्रमण गरेको होला भन्ने लाग्यो अनि बाघको बासस्थान संरक्षणमा जुटेको हुँ ।”

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको दुधवा राष्ट्रिय निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने बीचको करिडोर निवासी भदैको जीवन बाघको आक्रमणपछि फेरियो । घरायसी कामकाजमै ब्यस्त हुने उहाँ त्यसपछि एकाएक वन्यजन्तु संरक्षणमा ब्यस्त हुन थाल्नुभयो । जैविक विविधता र वन्यजन्तु संरक्षणकै क्रममा विश्व वन्यजन्तु कोष९डब्लुडब्लुएफ०बाट ‘अब्राहम संरक्षण पुरस्कार’ पाएपछि भदै ‘संरक्षणकर्मी’को उपनामले चिनिन थाल्नुभयो ।

उहाँले सुनाउनुभयो, “अझ अङ्ग्रेजी चलचित्रमा अभिनय गरेपछि त संरक्षण क्षेत्र नै मेरो पेशा बन्यो ।” भदै बाघको आक्रमणमा परेपछि उसैलाई लडाएर बाँच्नुभएको थियो, टाइटानिकका कलाकार लियोनार्दो डिक्रापियोले आफैँ आएर सोही घटना बमोजिमको अभिनयसमेत गराउनुभएको थियो । फर्कंदा लियोनार्दोले दिएको चस्मा अहिले पनि उहाँले लगाउँदै आउनुभएको छ ।

भदै सबैलाई धर्मसँग जोडिएको बाघलाई हामीले सिकार गर्न नहुने सन्देश दिँदै हिँड्नुभएका उहाँले भन्नुभयो, “थारु समुदायमा बाघलाई पूजा गरिन्छ । हाम्रै समाजमा बाघको सिकार गर्ने पनि छन् । हामी तिनीहरु विरुद्ध निरन्तर लड्यौँ । त्यसैको नजिता अहिले हामीले बर्दिया निकुञ्जमा बाघको सङ्ख्या बढाउन सफल भएका हौँ ।” उहाँलाई वन्यजन्तु तस्करसँग रत्तिभर डर छैन ।

संरक्षणकर्मी भदैले भन्नुभयो, “आँखा गुमाउँदा पनि संरक्षणमा लागे । तस्करले गोली देखाउँदा पनि झुकिन । तस्करसँग झुकेको भए आज हामी निकुञ्जलाई नै जोगाउन सक्ने थिएनौँ । हामीलाई गर्व छ हामी संरक्षणका लागि एकजुट छौँ ।” सरकारको नेतृत्व, डब्लुडब्लुएफको आर्थिक सहयोगमा १६ वर्षदेखि बर्दिया निकुञ्जमा शुरु भएको तराई भूपरिधि कार्यक्रम तालले बाघको संरक्षणका लागि काम गर्दै आएको छ ।

Skip This

Omoda E5 Pro