काठमाडौं, ८ कात्तिक । स्टार खेलाडी एवम् कप्तान लिओनल मेसी बिनै मैदान उत्रिएको बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा इन्टर मिलानमाथि सहज जीत निकालेको छ।
लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले मिलानमाथि २-० ले जीत निकालेको हो। बार्सिलोनाको जीतमा राफिन्हा र जोर्डी अल्बाले गोल गरेका थिए। यसअघि अघिल्लो ससाता क्याम्प नाउमा भएको सेभियाबिरूद्धको खेलमा घाइते भएका कप्तान मेसीको हात भाँचिएकाले उनी केही साता मैदान बाहिर रहनेछन्।
खेलको ३२ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सालाई सुरूवाती अग्रता दिलाएका थिए। लुइस सुआरेजले दिएको क्रस पासमा उनले भलीमार्फत आकर्षक गोल गरेका थिए ।
इन्टरमाथि केही हाबी देखिएको बार्सिलोनाले पहिलो हाफमै लुइस सुआरेज र क्लेमेन्ट लेङलेटको कडा प्रहार खेर गए पछि १-० ले अघि रह्यो।
दोस्रो हाफमा थप आक्रमक खेलेको बार्सिलोनाका कयौं प्रहार विफल भएका थिए। फिलिप कोउटिन्होको कडा प्रहार पोस्टमा लागेर फर्किए पछि बार्साले अग्रता दोब्बर बनाउने मौका गुमायो। तर खेलको ८३ औं मिनेटमा जोर्डी अल्बाले इभान राकीटिचको पासको सदुपयोग गर्दै दोस्रो गोल गरेपछि बार्सिलोना २-० ले अघि बढ्यो ।
यो सँगै च्याम्पियन्स लिगमा लगातार तेस्रो जितसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा ३ खेलबाट ६ अंक जोडेको इन्टर छ। टोटेनहम र पीएसभीको खेल २(२ को बराबरीमा सकिएपछि दुवै टोलीको १-१ अंक सहित पुछारमा छन्। एजेन्सीको सहयोगमा




प्रतिक्रिया