मोदी अब नेपाल नआउने, रेलको शिलान्यास गर्न को आउला ?


कात्तिक २६, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो नोभेम्बर अर्थात मंसिर महिनामा नेपालको भ्रमणमा आउने बताइएको थियो ।

तर मोदीको पाँचौपटक हुन लागेको नेपाल भ्रमणको सम्भावना टर्दै गएको छ । मोदीले गृहमन्त्री राजनाथ सिंह अथवा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीमध्ये एकजनालाई नेपाल पठाउन लागेको बताइएको छ ।

भारतबाट नेपाल आउने रेलको शिलान्यासका लागि मोदी नेपाल आउने कुरा थियो । मोदी मंसिरको १२ वा १३ अर्थात नोभेम्बर २८ वा २९ मा नेपाल आउने चर्चा थियो ।

भारतीय प्रधानमन्त्री मोदी गएको अगष्ट महिनामा काठमाडौंमा सम्पन्न बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन नेपाल आएका थिए ।

नोभेम्बरमा हुने भ्रमणमा उनले गौतम बुद्धको जन्मस्थान लुम्बिनीको समेत भ्रमण गर्ने बताइएको थियो ।

भारतमा लोकसभाको चुनावका नजिकिएका कारण मोदी नेपाल आउन नचाहेको कतिपयको टिप्पणी छ । अर्कोतर्फ मोदीको नेपाल भ्रमण यसअघि नै चारपटक भइसकेकाले पनि उनी आउन नचाहेको तर्क कतिपयले गरेका छन् ।