काठमाडौं, २८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र कोइराला परिवार एक भएपछि पार्टीभित्र तरंग पैदा भएको थियो । त्यतिमात्रै होईन, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत र कोइराला परिवारबाट डा. शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले सँगै लञ्च गरेको तस्विर बाहिरियो । यसले पनि पार्टीभित्र अर्को ठूलो तरंग पैदा गरेको थियो ।
पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिनको लागि पौडेल समूहको भेला बसेको भनेर पनि चर्चा भएको थियो । पार्टीलाई एक ढिक्का बनाउनको लागि कोइराला परिवारलाई मिलाउन युवा नेता एवम् पूर्वमन्त्री दीपक खड्काले पहल गरेका थिए । अहिलेपनि सुजाता निवासमा पौडेल पक्षको भेला आयोजना गर्नमा नेता खड्काकै ठूलो हात रहेको बुझिएको छ ।
आगामी महाधिवेशनमा पार्टी सभापति शशांकलाई बनाउनको लागि खड्का लागिपरेका छन् । त्यही भएर उनले नेताहरुलाई एक ठाउँमा भेला गरिरहेका छन्। उनको प्रयास सार्थक बन्दै गरिरहेको छ ।
सुजाता निवासमा बसेको पौडेल पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरित काम गरेको र त्यसलाई रोक्न भन्दै एकजुट हुने विषयमा छलफल गरेको छ। कांग्रेस नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता पौडेलसहितका नेताहरुलाई सोमबार लन्चकालागि आफ्नो निवास मण्डिखाटारमा बोलाएकी थिइन्।
लच्न बैठकमा पौडेल समूहका नेताहरु महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शेखर कोइराला, केन्द्रीय सदस्य गुरुराज घिमिरेसहितका सहभागी थिए।
करिव डेढ घण्टा चलेको बैठकमा सभापतिले पछिल्लो समयमा विधान विपरित काम गरेको, पार्टीलाई एउटा गुटमा परिणत गरेको, एकलौटी ढंगले अगाडि बढेको भन्दै सभापतिका गलत कामका विरुद्ध एक भएर अगाडि बढ्ने विषयमा छलफल भएको थियो। बैठकमा पूवमहामन्त्री कृष्णप्रसाद सिटौला भने राजधानी बाहिर भएका कारण उपस्थिति थिएनन्।
सो बैठकमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार महासमिति बैठक, १४ औं महाधिवेशनलगायतका विषयमा छलफल भएको थियो। बैठकमा १४ औं महाधिवेशनकालागि अहिलेदेखि नै व्यक्तिपिच्छे उम्मेद्वार तोक्ने काम बन्द गर्ने र महाधिवेशनको तयारीमा लाग्ने सहमति गरेको थियो । कांग्रेसको १४ औं महाधिवेशमा पूर्व संस्थापन पक्षभित्र कसलाई सभापतिको उम्मेद्वार बनाउने भन्ने विषयमा सहमति भइसकेको छैन।
केही समय अगाडि महामन्त्री शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाबीच आगामी नेतृत्व कोइराला परिवारबाट लिने सहमति भएको थियो। तीन जनामध्ये एक जनाले समापतिमा उम्मेद्वारी दिने सार्वजनिक नै गरेका कोइराला परिवारका सदस्यले सोमबारको लन्च बैठकपछि भने नेतृत्वका विषयमा अहिले नै कुरा नगर्ने सहमति भएको छ।
पछिल्लो समयमा सभापति देउवाले विधान विपरित काम गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट रहँदै आएको छ। केही दिन अगाडि सभापति देउवाले विजयकुमार गच्छदारलाई विधान विपरित उपसभापतिमा मनोनयन गरेपछि कांग्रेसभित्रको विवाद सतहमा आएको छ।
कांग्रेस विधानमा पदाधिकारीमा नियुक्त हुन महाधिवेशनबाट केन्द्रीय सदस्यमा प्रत्यक्ष निर्वा्चित हुनुपर्ने प्रावधान छ। तर उक्त प्रावधान विपरित देउवाले गच्छदारलाई उपसभापतिमा मनोनयन गरेका थिए।




प्रतिक्रिया