युवालाई उद्यमशील बन्न राष्ट्रियसभाका अध्यक्षको आग्रह


चिप्लेढुङ्गा, ३० कात्तिक / राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले युवाको सक्रियताबाट मात्रै देश विकास हुने बताउनुभएको छ । कास्की लेखनाथस्थित भण्डारढिक खेल मैदानमा स्थानीय आदर्श युवा क्लवले आयोजना गरेको प्रथम आर्दश महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले युवालाई उद्यमशील र कर्मठ बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्ववनमन्त्री शङ्कर भण्डारीले यस प्रकारका मेला महोत्सवले आर्थिक समृद्धिको बाटोबाट देशलाई अगाडि बढाउन सकिने विचार राख्नुभएको थियो ।

गण्डकी प्रदेश सांसद दीपक कोइरालाले युवा स्वरोजगारका लागि देशभित्रका स्रोतसाधनको समुचित प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

यही मङ्सिर ९ गतेसम्म चल्ने महोत्सवमा ३०० कक्ष छन् । महोत्सवमा कृषिजन्य सामग्री र खाद्यान्न प्रदर्शनी तथा बिक्री वितरण, बालोद्यान, ख्यातिप्राप्त कलाकारद्वारा लोकदोहोरी तथा पप कन्सर्ट, ऊँट प्रदर्शनीलगायत कार्यक्रमहरु हुने महोत्सवका संयोजक किसान गुरुङले जानकारी दिनुभयो । (रासस)