निर्मला पन्त प्रकरणमा डिएनए परिक्षणपछि अनुसन्धान थप जटील


मंसिर १, काठमाण्डौ । निर्मला पन्त प्रकरण यति जटील बन्यो कि, सरकार नै असफल भयो भन्ने टिप्पणीलाई यही प्रकरणले मलजल गर्यो । निर्मलाको बलात्कार र हत्यापछिको घटनाक्रमले उग्र रुप लिइरहेको छ । तर अनुसन्धान प्रक्रियाबाट प्राप्त एक पछि अर्को नतिजाले घटना झन जटील बन्दै गएको छ ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटना अनुसन्धानका क्रममा प्रहरीले थप चार जनाको डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ । शंकास्पद मानिएका चार जनाको परीक्षण रिपोर्ट प्रहरीले सार्वजनिक गरेको हो । चारै जनाको डिएनए रिपोर्ट निर्मलाको भेजिनल स्याबमा भेटिएको विर्यसँग मेल नखाएपछि थप अन्योल बढेको छ ।

चार जनाको महाकाली अञ्चल अस्पतालमा नमूना संकलन गरी डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको थियो । अन्य तीन जनाको पनि डिएनए परीक्षण गर्ने तयारी प्रहरीले गरेको छ । अनुसन्धानका धेरै पाटोहरुलाई एकसाथ अगाडि बढाइएको र आवश्यकतअनुसार अरु व्यक्तिको पनि डिएनए परिक्षण गर्न सकिने कञ्चनपुर प्रहरी प्रवक्ता ओझाले बताए ।

यसअघि प्रहरीले एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, आयुष विष्ट, दिलीपसिंह विष्ट लगायतको डिएनए परीक्षण गरिसकेको छ । डिएनए परीक्षण गरिएका सबैको नमूनाको नतिजा नेगेटिभ आएको थियो ।

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान घर नजिकै उखुबारीमा शव फेला परेको थियो । चार महिना हुन लागिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै गत आइतबारदेखि निर्मलाका बाबु यज्ञराज पन्त धर्ना बसिरहेका छन् ।