माघ १५, काठमाण्डौ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईले सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्ने सरकारको लक्ष्य रहेको दावी गरेका छन् ।
नेपालको इतिहासमा नै अहिलेको सरकारले सन्तुलित परराष्ट्र नीति कायम गर्न सफल भएको पनि डा. भट्टराईले बताए । परराष्ट्रविद्समेत रहेका भट्टराईले अहिलेको जस्तो उचित परराष्ट्र नीति कहिल्यै पनि नभएको जिकिर गरे ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाको पक्षमा निकालेको वक्तव्यले अमेरिका रिसायो भनेर गरिएको प्रचार गलत भएको पनि भट्टराईले बताए ।
दाहालले पार्टी अध्यक्षका रुपमा जारी गरेको विज्ञप्तिले सरकारलाई प्रभाव नपार्ने पनि भट्टराईको तर्क छ । “सरकार र पार्टीको धारणा पनि एउटै हुनुपर्छ भन्ने छैन । सरकारको आफ्नै लाइन हुन्छ । पार्टीको आफ्नै हुन्छ ।” भट्टराईले भने ।
अमेरिकाले विश्वमा अनावश्यक हस्तक्षेप गरेको पनि भट्टराईले आरोप लगाए । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि विभिन्न देशसँगको व्यापार, लगानी, कुटनीतिक सम्बन्धमा फरकपन आएको भट्टराईको तर्क छ ।
विगतका राष्ट्रपतिले ल्याएका नीतिलाई ट्रम्पले स्विकार नगरेको भट्टराईको दावी छ । नेपाल सरकार भेनेजुयला वा अमेरिका भनेर एउटा पक्ष समातेर धारणा राख्ने अवस्थामा नरहेको पनि भट्टराईले स्पष्ट पारे ।




प्रतिक्रिया