घुस काण्ड, वाइडबडी प्रकरण र भ्रष्ट ठेकेदारमाथि छानविन सुरु


फागुन १२, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक नै घुस काण्डमा संलग्न भएको सार्वजनिक भएपछि छानविनको माग उठ्यो । भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजिएको भनेर पनि दबाब बढ्यो । अहिले पाठक काण्डको छानविन भइरहेको अख्तियारले दावी गरेको छ । भ्रष्टाचार हुन सक्ने सबै घटनाको विषयमा छानविन गरिरहेको दावी पनि गरिएको छ ।

देशमा भ्रष्टाचार बढिरहेका बेला नियमन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धानको भूमिका कमजोर भएको आरोप लाग्दै आएको छ । तर अख्तियारले भने सबैखाले भ्रष्टाचारका घटनामा छानविन गरिरहेको दावी गरेको छ ।

आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले भ्रष्टाचारी कसैले पनि उन्मुक्ति पाउनुहुन्न भन्ने अभिप्रायका साथ आयोगले काम गरिरहेको बताउनुभएको हो । संघीय ससद राष्ट्रियसभा अन्र्तगतको दीगो विकास तथा सुशासन समिति सदस्यहरुले आयोगकै पदाधिकारी भ्रष्टाचारमा संलग्न भएको भन्दै आयोगका कामकारवाही बारे प्रश्न उठाएपछि प्रमुख आयुक्त घिमिरेले नाम नलिईकनै पछिल्लो घटनाबारे आयोगले छानविन सुरु गरिसकेको जानकारी गराउनुभयो । उहाँले वरिष्ठ सचिवको संयोजकत्वमा गठित समितिले अनुसन्धान सुरु गरिसकेकाले छिटै त्यसबारेका सत्य तथ्य सार्वजनिक गरिने विश्वास दिलाउनुभयो ।

प्रमुख आयुक्त घिमिरेले वाईड वडी विमान खरिद प्रकरणबारे सह सचिवको संयोजकत्वको समितिले छानविन गरि बयान लिने काम गरिरहेको जानकारी गराउनुभयो । त्यसैगरी सार्वजनिक जनसरोकारका संस्थामा हुने गरेका आर्थिक अनियमितता नियन्त्रणका लागि आयोगका अधिकारी नै सेवाग्राही बनेर जाने योजना अनुसार कार्यविधि तयार भईसकेको भन्दै उहाँले छिटै नै सो अभियान सुरु गरिने बताउनुभयो ।

आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्दै उहाँले नागरिक समाज, संचार माध्यम, राज्यका अन्य संयन्त्र र आयोगको एकिकृत र समन्वयात्मक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिक निगरानी समूह गठन गरि केही जिल्लामा कार्यक्रम सुरु भईसकेको भन्दै सो कार्यक्रमको प्रभावकारिता हेरेर त्यसलाई परिमार्जन र विस्तार गर्दै लगिने बताउनुभयो ।

उहाँले सिमित क्षेत्राधिकारमा रहेर पनि आयोगले सरकारबाट संञ्चालित ठेक्काहरुमा भएको अनियमिततालाई अध्ययन गरिरहेको फेयरिस्त प्रस्तुत गर्दै सडक विभाग, सहरी विकाश र भवन निर्माण, नागरिक उड्डयन प्राधिकरण, स्थानीय पूर्वाधार विकास लगायतका १ हजार बढी ठेक्काको समय थप नभएको स्पष्ट पार्नुभयो । आयोगका आयुक्त राजनारायण पाठक नै घुस काण्डमा संलग्न भएको समाचार सार्वजनिक भएपछि समितिले प्रमुख आयुक्तलाई बैठकमा बोलाएको हो ।