काठमाडौँ । काठमाडौँ महानगरको मेयर हुँदै सिंहदरबारको यात्रा तय गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज संसदमा पहिलोपटक सम्बोधन गरे । उनको पहिलो सम्बोधन नै यतिबेला नेपाली राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
विपक्षी दलको निरन्तर खोजिको बाबजुद आइतबार अचानक प्रधानमन्त्री शाह संसद बैठकमा उपस्थित भएर सांसदहरूले सोधेको प्रश्नको जवाफ दिन तयार भएको बताए । लगत्तै उनलाई सभामुख डोलप्रसाद अर्यालले पनि संसदको कुनै नियमावली नहेरी रोस्ट्रममा उभिनको लागि समय दिइहाले ।
आइतबार श्रम,संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भने , ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
राष्ट्रियता र सीमा विवाद जस्तो संवेदनशील विषयमा संसद्को रोस्टममा उभिएर प्रधानमन्त्री शाहले दिएको यो अभिव्यक्तिले अहिले चौतर्फी आलोचना र नेपालमा राजनीतिक खैलाबैला नै मच्चाएको छ ।
प्रधानमन्त्रीको यो भनाइ लगत्तै कांग्रेसको प्रमुख सचेतक बासना थापाले कुन ठाउँमा नेपाललले भारतको भुमि मिचेको हो त्यो प्रष्ट पार्न माग समेत गरेकी थिइन् । अन्य विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहिन र आधारहीन भएको दाबी गर्दै संसदको रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस ,नेकपा एमाले , राप्रपा लगायतका पार्टीका विभिन्न तहका नेताहरूले सामाजिक सन्जालमार्फत प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रती कडा आपत्ति जनाइरहेका छन् । त्यस्तै आइतबार साँझ एमालेका विद्यार्थी संगठनले त प्रदर्शनीमार्गमा मसालु जुलुस निकालेर प्रधानमन्त्रीविरुद्ध नारा नै लगाए ।
प्रधानमन्त्री बालेनले किन दिए यस्तो अभिव्यक्ति?
राजनीतिक विश्लेषकहरू र प्रधानमन्त्री निकट स्रोतका अनुसार बालेन शाहको यो अभिव्यक्ति कुनै आकस्मिक भूल नभई तथ्यमै आधारित रहेको छ । यसका मुख्य तीन कारणहरू देखिन्छन्:
१. ‘सेन्टिमेन्टल’ राष्ट्रवादमाथि प्रहार: बालेन शाह परम्परागत राजनीतिक दलहरूले चुनाव जित्नका लागि मात्रै प्रयोग गर्ने “भारतविरोधी राष्ट्रवाद” को भाष्यलाई भत्काउन चाहन्छन् । नेपाल जहिल्यै पीडित मात्र बन्छ भन्ने मनोविज्ञानबाट बाहिर निस्केर कूटनीतिक टेबलमा तथ्यका आधारमा ‘इक्वेल लेभल’ मा कुरा गर्नुपर्छ भन्ने उनको सोच भएको स्रोतको दाबी छ ।
२. तथ्यमै आधारित : परराष्ट मन्त्रालयका अनुसार कतिपय सीमावर्ती क्षेत्रमा नदीको धार परिवर्तन र दशगजा क्षेत्रको व्यवस्थापनमा कमजोरी हुँदा नेपाली नागरिकहरूले पनि प्राविधिक रूपमा भारतीय भूमि भोगचलन गरिरहेको सरकारी प्रतिवेदनहरूमा उल्लेख छ । प्रधानमन्त्रीले यसैलाई आधार बनाएर दुवैतर्फको गल्ती सच्याउनुपर्नेमा जोड दिएका हुन् ।
३. पुराना दलहरूलाई ‘काउन्टर’: राजनीतिक विश्लेषकहरुका अनुसार नक्सा पास गर्ने तर भूमि फिर्ता ल्याउन कुटनीतिक पहल नगर्ने पुराना दलका नेताहरू भन्दा आफू फरक रहेको देखाउन पनि यो अभिव्यक्ति दिएको हुनुपर्छ ।



प्रतिक्रिया