काठमाडौं, ११ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी जडसूत्रवादी र अवसरवादी होइन भनेर स्थापित गर्नेपर्ने बताउनु भएको छ ।
बुधबार ललितपुरको श्री सिद्धिमङ्गल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं नयाँ भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘एकतालाई नयाँ स्थितिमा अगाडि बढाएर जनतामा के होला भन्ने स्थितिको अन्त्य गरेका छौँ । अब अभियान लिएर जिल्ला जिल्लामा जाँदैछौँ ।’
सरकार र पार्टी विकास निर्माणका कामलाई अगाडि बढाउने अभियानमा लाग्ने अध्यक्षको भनाई थियो ।पार्टीको जिल्ला र केन्द्रीयस्तरमा अधिवेशन गर्ने र जनतासँगको सम्बन्ध सुदृढ बनाउने अध्यक्ष प्रचण्डको भनाई थियो । ‘आउने चार वर्षमा हामीले नेपाली जनताका अगाडि जे संकल्प र प्रतिबद्धता गरेका छौँ र जनताले जुन भरोसा गरेर मत दिएका छन्, त्यसलाई गति दिने जिम्मेवारी हाम्रो काँधमा छ ।’
एकअर्को प्रसंगमा अध्यक्ष प्रचण्डले जीवन उपयोगी शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘व्यवहारिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई बढाउँदै र सैद्धान्तिक शिक्षाको अनुपातलाई कम गर्दै लैजाने नीति हामीले लिएका छौं । शिक्षामा आमुल सुधार गर्ने उद्देश्यले संसदबाट नयाँ विद्येयक प्रस्तुतसमेत भएको छ ।’
अध्यक्षले भन्नुभयो, ‘जबसम्म शिक्षामा लगानी, पूर्वाधारको विकास र गुणस्तरियता कायम हुन सक्दैन तबसम्म हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन सक्दैन ।’ उहाँले निर्वाचनका समयमा आश्वासन दिइएका शिक्षाका मुद्धा विस्तारै पूरा भइरहेकोसमेत बताउनुभयो ।
अध्यक्ष प्रचण्डले अब बेरोजगार पैदा नभएर रोजगार पैदा गर्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयोे, ‘आउने दिनमा शिक्षाको क्षेत्रमा बेरोजगार पैदान गर्ने होइन रोजगार पैदा गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले समृद्धिको सपनालाई पूरा गर्नका लागि त्यस किसिमको शिक्षा नीति बनाउन आफूहरु केन्द्रित भएको बताउनुभयो ।




प्रतिक्रिया