काङ्ग्रेसले रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

0
Shares

काठमाडौँ, १६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आम नागरिकको चाहनाअनुरुप संसद्मा रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले हालै बारा, पर्सा, रौतहट र धनुषामा हावाहुरीको प्रकोपले पीडित नागरिकलाई तत्काल राहत पु¥याउन र पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले समृद्धिको यात्रामा मुलुकलाई निर्बाध रुपमा अघि बढाउनु हुनेछ भन्ने आशा थियो, अपेक्षा थियो । अभूतपूर्व ऐतिहासिक अवसरका बाबजुद सरकारले यो समय खेर फालेको छ । अबोध बालिका निर्मला पन्तको बलत्कार र हत्या गर्ने अपराधी अहिलेसम्म सरकारले फेला पारेको छैन । आम नागरिकबीच यस विषयमा सरकारको नियतप्रति आशङ्का उब्जिएको छ ।”

शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकार असफल रहेको उल्लेख गर्दै उहाँले ‘समृद्ध नेपाल र सुखी नेपालीको’ नारा ठूल–ठूलो स्वरले लगाउने सरकारले चालू आर्थिक वर्षको आठ महीनामा पूँजीगत खर्च बढाई विकास र निर्माणको कार्य अघि बढाउनेछ भन्ने आशा भए पनि सरकारको उपलब्धि निराशाजनक रहेको टिप्पणी गर्नुभयो । “विगतका सरकारले सम्पन्न गरेका योजना उद्घाटन गरेर आफँैले सम्पन्न गरेको हुँ भनी झूठ प्रचार गर्नबाहेक सरकारले उल्लेखनीय काम गर्न सकेन । नेपालकै लगानीमा बूढीगण्डकी परियोजना कार्यान्वयन गर्ने दिशामा अघि बढ्नुको सट्टा बिना टेण्डर, बिना प्रतिस्पर्धा ठूलो रकमको खर्चमा विदेशीलाई यो परियोजना सुम्पने प्रपञ्चमा सरकार लाग्यो । फलतः बूढीगण्डकी परियोजनाको भविष्य असुरक्षित हुन पुगेको छ”, सभापति देउवाले भन्नुभयो ।

सरकारले विदेशी अनुदान निराशाजनक रुपमा लक्ष्यभन्दा निकै कम मात्रै ल्याउन सकेको बताउँदै उहाँले थप विदेशी लगानी भित्र्याउने कार्यमा पनि सरकारको उपलब्धि शून्यसरह छ भन्नुभयो । “वैदेशीक व्यापार घाटा निरन्तर रुपमा बढ्दै गएको छ । यसबाट अर्थतन्त्रको मूलभूत संरचना गम्भीर रुपमा दुष्प्रभावित हुने डर बढेको छ । दिनानुदिन नागरिक मूल्यवृद्धि मार खप्न बाध्य छन्”, सभापति देउवाले भन्नुभयो, “विगतमा मेरो नेतृत्वमा रहेको सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफँैले गरेको हुँ भनी तामझामका साथ प्रचार गरेर भ्रम छर्नेबाहेक यो कार्यमा अरू केही सफलता सरकारले प्राप्त गर्न सकेको छैन ।”

स्पाइनल इञ्जुरी, क्यान्सर, मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित अशक्त बिरामीलाई जीविकोपार्जनका लागि मासिक रु पाँच हजार भत्ता दिने आफ्नो नेतृत्वको सरकारको निर्णयलाई वर्तमान सरकारले खारेज गरेको बताउँदै उहाँले चिकित्सा शिक्षा सुधारका लागि आफूहरुले गरेको प्रयास र प्रधानमन्त्री स्वयंको सार्वजनिक प्रतिबद्धता विपरीत चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गर्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो भन्नुभयो । पछिल्लो समय ठूल–ठूला भ्रष्टाचारका काण्ड सुनेर नागरिक निराश बनेको उल्लेख गर्दै सभापति देउवाले खर्चमा अनियमितताको प्रवृत्ति र बेरुजु बढेकाले आर्थिक अपचलन र अनियमितता अभूतपूर्व रुपमा बढेको स्पष्ट हुन्छ भन्नुभयो ।

सभापति देउवाले वाइडबडी जहाज घोटालासम्बन्धी कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान छिट्टै पूरा गरी दोषीलाई कानूनको कठ्घरामा पु¥याउन सकोस्, यो आमनागरिकको चाहना हो भन्नुभयो । “बालुवाटारको सरकारी जग्गासमेत भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न तल्लीन देख्दा नागरिकको धैर्यको सीमा टुट्न लागेको छ । आउने वर्षमा सरकार यस्ता कार्यमा नलागोस्, जनअपेक्षा पूरा गर्न अग्रसर होस्, मेरो शुभकामना छ”, उहाँले भन्नुभयो, “शुभकामना मात्र होइन प्रमुख प्रतिपक्षको हैसियतमा हाम्रा सबै प्रयत्न विशेषतः संसदीय भूमिका सरकारलाई आम नागरिकको पक्षमा कार्य गराउन केन्द्रित रहनेछन् ।”

“धेरै लामो छलफल, विचार विमर्श र मन्थनबाट संविधान निर्माणको समयमा नागरिकताका विषयमा हामी सबैले सहमति निर्माण ग¥यौँ । त्यसै अनुसार संविधानमा नागरिकतासम्बन्धी व्यवस्था ग¥यौँ । तराई–मधेशमा मात्र होइन हिमाल–पहाडमा पनि पुस्तौँदेखि बसोबास गर्ने नेपालीले नितान्त प्राविधिक कारणले नागरिकता नपाउने परिस्थितिको अन्त्य गर्ने व्यवस्था ग¥यौँ ।” लोकतन्त्रलाई कमजोर पारेर, प्रेस स्वतन्त्रतामाथि अतिक्रमण गरेर, संसद्लाई भूमिकाहीन बनाएर, प्रदेश र स्थानीय तहका सरकारको संविधान प्रदत्त अधिकारलाई सङ्कुचित गरेर समृद्धि सम्भव नहुने उहाँको भनाइ थियो ।

सभापति देउवाले भन्नुभयो, “संवैधानिक मूल्य र मान्यता विपरीत संवैधानिक परिषद्को निर्णय एकलौटी रुपमा गर्दा शक्तिशाली भए भन्ने लाग्ला । सबै तहका राज्य संरचनाको अधिकार आफूमा केन्द्रित गरेर चाँडै विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।” सरकार बनेको चौध महीनामा देखाउन लायक र जनतालाई आशा जगाउने एउटा पनि काम सरकारले अहिलेसम्म सम्पन्न गर्न नसकेको टिप्पणी गर्दै उहाँले मुलुकभरि निराशा व्याप्त रहेको र त्यस्तो निराशा सबैका लागि घातक हुन सक्छ भन्नुभयो । रासस

Skip This

Omoda E5 Pro