‘निर्वाचन प्रणालीको पुनरावलोकन हुनुपर्छ’

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले निर्वाचनमा बढी खर्च गरेर चुनाव जित्ने प्रवृत्ति बढ्दै गएकाले निर्वाचित जनप्रतिनिधिले खर्च गरेको रकम असुल्न खोज्ने भएकाले निर्वाचन प्रणालीको पुनरावलोकन हुनुपर्ने बताउनुभयो ।

अख्तियारको हेटौँडा कार्यालयले आज यहाँ आयोजना गरेको ‘भष्टाचार नियन्त्रण र सुशासन’ विषयक अन्तरक्रियामा कार्यक्रममा उहाँले जनप्रतिनिधिको इमान्दारितामा आयोगले हात मिलाएर अगाडि बढ्न खोजी रहेको उल्लेख गर्नुभयो । सहभागी जनप्रतिनिधिको जिज्ञासाको जवाफमा उहाँले जनप्रतिनिधिहरुले अनाहकमा कर्मचारीलाई दबाब दिएर काम गराउनुभन्दा सीमाभित्र रहेर इमानदारीपूर्वक जनताको काम गर्नुपर्नेमा जोड दिनुभयो ।

तराई मधेश क्षेत्रमा झोलामा विद्यालय बोक्ने प्रवृति देखिएकाले यसप्रति पनि अख्तियार गम्भीर रहेको उल्लेख गर्दै उहाँले शिक्षा क्षेत्रमा बढी भ्रष्टाचार भएकाले यो क्षेत्रका मुद्दा आयोगमा बढिरहेको बताउनुभयो । गलत उजुरी परेका कारण कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको उल्लेख गर्दै उहाँले त्यस्ता गलत उजुरी दिने उजुरीकर्ताको पहिचान गरी कानूनी कारवाही गरिने व्यवस्थासमेत रहेको जानकारी गराउनुभयो ।

आयोगका सचिव कालीप्रसाद पराजुली तथा आयोगको हेटौँडा कार्यालयका हुमकला पाण्डेले भ्रष्टाचार नियन्त्रणको अवस्था र कसुर सजाय बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा पर्साका १४ स्थानीयतहका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिको उपस्थिति थियो । रासस