कलेजबाट फर्किदा सीधै गोली हान्यो: महेश आचार्य


काठमाडौं, मंसिर २४ । कोहलपुरको बालविद्या उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत महेश आचार्य आइतबार बिहान ९ बजे विद्यालयबाट घर फर्कंदै थिए। उनीसँगै सहपाठी खुमबहादुर मगर, विवेक मगर र सुशील थापा पनि थिए। कलेजबाट एक किलोमिटर अगाडि बढेपछि अचानक गोली चलेको आवाज आयो।

महेश अत्तालिए, साथीभाइ भाग्न थाले। भाग्दाभाग्दै सुशील र महेशको खुट्टामा गोली लाग्यो। उनीहरु ढले। पछिपछि दौडिँदै गरेका साथीलाई पनि प्रहरीको गोली लाग्यो। ‘हामी कलेज सकेर घर फर्कंदै थियौं। अलि पर पुगेपछि प्रहरीले केही दाइहरुलाई लखेट्दै आएको देखियो। दाइहरु दौडिरहेका थिए।

हामी पनि दौडिन थाल्यौं, त्यसपछि प्रहरीले टाउको र खुट्टामा गोली हान्यो,’ काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत महेशले भने। सशीलको पनि टाउकोमा गम्भीर चोट लागेको छ। भिडियो एक्सरे गर्दा उनको टाउको र पाखुरामा गोलीको छर्रा देखिएको छ।

हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनी बोल्न सक्ने अवस्थामा छन्। ‘मैले प्रायः प्रहरीलाई चिनेको छु, कतिलाई त सर भन्दै कलेजबाट फर्कंदा नमस्कार पनि गरेका थियौं, तिनैले गोली हाने,’ उनले सुनाए, ‘तिनलाई कारबाही हुनुपर्छ।’नागरिक दैनिकबाट