लागुऔषधसहित युवक नियन्त्रणमा


सप्तरी, १ पुस : सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित लोकमार्गबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ११ का २० वर्षीय दिनेश चौधरी १५ वटा लागुऔषध नाइट्रोजन ट्याब्लेटसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१प ८१४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक चौधरी सामान्य घाइते भएका थिए । चौधरीको शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

नाइट्रोजन ट्याब्लेट र मोटरसाइकलसहित चौधरीलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।