खोटाङ, फागुन ११ । हलेसी तुवाचुङ नगरपालिकाले ककनी डाँडालाई ‘रक गार्डेन’ का रुपमा विकास गर्ने भएको छ। त्रि–धार्मिकस्थल हलेसी नजिकै रहेको ककनी डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ढुंगे बगैंचा बनाउने तयारी गरिएको हो। विभिन्न आकृतिका ढुंगैढुंगाले ढाकिएको डाँडालाई ‘रक गार्डेन’ का रुपमा विकास गर्न डिपिआरको काम अन्तिम चरणमा पु(याइएको मेयर इवन राईले बताए।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने ककनी डाँडाको करिब एक सय ६० रोपनी सरकारी जग्गा चट्टानै–चट्टानले ढाकिएको छ। सिंगो डाँडामा खोपेर बनाएजस्ता चुच्चो–चुच्चो परेका ढुंगा छन्। त्यसमध्ये ५६ रोपनी जग्गाभित्रको चट्टानलाई समेटेर ‘रक गार्डेन’ बनाउने लक्ष्य राखिएको छ। प्राकृतिक चट्टानले बनेको ककनी डाँडालाई ढुंगे बगैंचा बनाउन लागिएको जानकारी मेयर राईले दिए।
हलेसीमा आउने पर्यटकलाई घुमफिर गराउने र केही दिन अलमल्याउने उपायको खोजीमा ककनी डाँडामा ढुंगे बगैंचा बनाउने परिकल्पना गरिएको उनले बताए। डाँडामा रहेका चट्टानी ढुंगालाई नबिगारी÷नचलाई सजाइनेछ। ‘ककनीडाँडामा सुन्दर र कलात्मक आकृतिका ढुंगा छन्, हामी ती ढुंगा सजाएर बगैंचाको रुप दिनेछौं, मेयर राईले भने, ‘यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो।’
ककनीडाँडा उत्तरतर्फका हिमशृंखला र वरपरका दृश्यावलोकनका लागि चर्चित छ। झट्ट हेर्दा बालुवा सिमेन्टले बनाएजस्ता सेतो रङका ढुंगाले ढाकिएको ककनी डाँडा वारपार गर्न ३० मिनेटदेखि ४५ मिनेट लाग्छ। मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुग्न सकिने सो ठाउँमा स्थानीय घुमफिर र वनभोज जाने गरेका छन्। ढुंगे बगैंचा बनाएपछि सो डाँडालाई ‘चुरेडाँडा रक गार्डेन’ नामाकरण गर्ने प्रस्ताव गरिएको छ।नागरिक दैनिकबाट




प्रतिक्रिया