काठमाडौं, १३ वैशाख । यतिबेला जनता समाजवादी पार्टीका सांसद अपहरण गरेको भनिएको घटनाले राजनीतिक बजार तातेको छ । डा. सुरेन्द्र यादवलाई १० वैशाखमा घरबाटै काठमाडौं सम्म ल्याइएको र ११ वैशाखको विहान उनी बसेको होटल मेरियटबाट हिंडेको घटनापछि आरोप प्रत्यारोप चलेको छ ।
डा. यादवले आफूलाई अपहरण गरेको भनेका छैनन् । उनले ऋषि धमलासँगको अन्तवार्तामा अपहरण हो भन्दा-‘यसलाई म के भनुँ’ भन्दै रोएका थिए । तर, न त उनी आफूलाई काठमाडौं सम्म ल्याउनेमाथि उजुरी गर्न प्रहरीमा पुगेका छन् न त अदालतमा मुद्दा दायरका लागि पुगेका छन् । यतिबेला यादवको विषय मिडियामा बहसमै केन्द्रित छ ।
उनलाई महोत्तरीबाट काठमाडौं ल्याउन संलग्न नेकपा सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल पनि मिडियामै केन्द्रित छन् । बस्नेतले उल्टै डा. बाबुराम भट्टराईलाई साइबर क्राइम लगाउने चुनौती दिएका छन् । किसान श्रेष्ठ पनि अपहरण नगरेको दाबी गर्दै आएका छन् । पूर्व आइजीपी सर्वेन्द्र खनाल चाहिं डा. यादवलाई आफ्नो पुराना मित्र भनिरहेका छन् जसलाई यादवले पनि मिडियामा यसरी नै प्रस्तुत गरेका छन् ।
अपहरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार काम भएको आरोप यादवका समर्थक र उनका दलका नेताहरुको छ । ओलीले नगरेको भए आफूलाई काठमाडौं ल्याउनेमाथि कारबाही गर्नुपर्ने उनको माग छ । तर, यादव पिएसओ र आफन्तसँगै आएका छन् । प्रहरीको पिएसओले यादव कतै यात्रामा जान लागेको जानकारी माथिल्लो निकायसम्म गर्नुपर्छ । उनले त्यो गरेको छैनन् भने उनीमाथि नै कारबाही हुन्छ । यति गरेका छन् भने के कसरी गरेका छन् त्यो अर्को गम्भीर विषय हो ।
डा. यादवको अपहरण नभएको दाबी उनकै दलका अर्का सांसद प्रमोद यादवले गरेका छन् । उनले एक अन्तवार्तामा मन्त्री खान काठमाडौं आएको भन्दै अपहरण प्रमाणित गर्न चुनौती दिएका छन् । सांसद यादवसँग अर्का सांसद उमाशंकर अडगरिया पनि थिए । तीनवटा गाडीमा आएका उनीहरु काठमाडौं छिर्दा दुईवटा मात्र गाडी थियो र एउटा बाटोमा बिग्रिएको थियो । मेरियट होटलमा ११ वैशाखको विहान डा. यादव गायब भएपछि यो घटना छताछुल्ल भएको थियो ।
डा. बाबुराम भट्टराईले अझै पनि केपी शर्मा ओलीलाई अपहरण गर्न लगाएको सार्वजनिक रुपमा आरोप लगाउँदै सत्ताबाट हटाउनुपर्ने बताएका छन् । ओलीले पनि आफूलाई विगतमा मधेशमा पस्न दिन्न भनेको स्मरण गराउँदै आफू लकडाउनका बेलामा मधेश पसेको पार्टीका सांसदहरुको ब्रिफिङमा बताएको उल्लेख छ । यसरी ओलीले यो घटनामा आफ्नो संलग्ना घुमाउरो तरिकाले स्वीकार गर्दै चुनौतीको भाषा बोलेका छन् ।
डा. यादव प्रकरण मधेश केन्द्रित र जातीय मुद्दाको आधार बनाएका पार्टीहरुलाई समाप्त पार्ने उद्देश्यले थियो भनी महेश बस्नेतले संकेत गरिसकेका छन् । उनले हिजो ऋषि धमलासँगको अन्तवार्तामा यही विषयलाई जोड दिदै मधेशवादी दलहरु कि त नेकपामा आउनुपर्ने कि त नेपाली काँग्रेसमा जानुपर्ने अवस्था ढिलो चाँडो आउने बताएका छन् । उनले यादवलाई काठमाडौं सम्म ल्याउन आफ्नो संलग्नता ठाडै स्वीकार्दै अपहरण प्रमाणित गर्न चुनौती दिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको जिकिर गर्छन् । उनी भन्छन्, ‘मुलुकि अपराध सहिताको दफा २११(२)(क) ले यसको परिभाषा दिएको छ । जस अनुसार ( कुनै ब्यक्तिलाइ बल प्रयोग गरि वा सो प्रयोग गर्ने धम्कि दिएर, छलकपट गरि वा डर त्रासमा पारि, जोर जुलुममा पारि हाथतियार देखाइ वा नदेखाइ वा झुक्यानमा पारि …………कुनै किसिमले नियन्त्रण गरि निजलाइ कुनै ठाउमा लगेमा वा जान बाध्य गराएमा भनि परिभाषा गरेको छ ।’ यो परिभाषा अनुसार प्रधानमन्त्री केपी शर्मा ओली स्वयं यसमा संलग्न रहेको उनको तर्क छ ।




प्रतिक्रिया