काठमाडौं, २२ वैशाख । सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल राष्ट्रिय मानवअधिका आयोग पुगेका छन् । उनीहरुले आफूहरु निर्दोष रहेको भन्दै आज आयोगमा उजुरी दर्ता गरेका हुन् ।
आयोगमा तीनैजनाले आफूहरुलाई झुटा आरोप लगाई चरित्रहत्या गर्न खोजेको भन्दै यादवमाथि मानवअधिकार उल्लंघनको निवेदन दर्ता गरेका हुन् । उनीहरुले घटनाको वृस्तृत विवरण समेत उल्लेख गरी आफ्नो पक्षबाट दाबीसहित निवेदन दर्ता गराएपछि यो घटनाले दुवै पक्षबीच टकराव बढाएको छ ।
१८ वैशाखमा डा. सुरेन्द्र यादव आयोग पुगी आफूलाई अपहरण गरी मानवअधिकार उल्लंघन भएको भन्दै छानविन गरी कारबाहीको सिफारिश गर्ने निवेदन दर्ता गरेका थिए । जनता समाजवादी पार्टीका सांसद यादव यसअघि महानगरीय प्रहरी परिसर काठमाडौं र सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गर्न जाँदा दर्ता नभएको भन्दै मानवअधिकार आयोग पुगेका थिए ।
यसैगरी, आज सरकार वकिलको कार्यालयमा डा. सुरेन्द्र यादवले दायर गरेको उजुरी दर्ता भएको छ । यादवले अपहरण र शरीर बन्धकसम्बन्धि मुद्दा दायर गरेका छन् ।




प्रतिक्रिया