काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा अतिक्रमित जग्गा फिर्ता गरेर सार्वजनिक पार्क बन्दै


जेठ १८, काठमाण्डौ । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा २ वटा पार्क बनाइने भएको छ । स्थानीयले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता गरी करिब ४ रोपनी जग्गामा पार्क बनाउन लागिएको हो ।

आइतबार नेकपा केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य नारायण सिलवाल र अर्का प्रदेश सांसद सीता अधिकारी दाहालले पार्कको शिलान्यास गरेका छन् । काठमाडौं क्षेत्र नं. ५, बाग्मती प्रदेश संघ, वडा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमअन्तर्गत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको पहलमा एउटा पार्क बनाइन लागिएको हो । बाग्मती प्रदेशसभा सदस्य नारायण सिलवालको पहलमा प्रदेश सरकारबाट अर्को पार्क बनाइन लागिएको हो ।

‘पार्क शहरको अभिन्न अंग बन्न थालेको छ’, सांसद सिलवालले भने, ‘आफ्नो क्षेत्रमा थप हरियाली विस्तार गर्न पार्क बनाउन लागिएको हो ।’ पार्क भनेको मुलुक धनी भएपछि विलासिताका लागि बनाउनुपर्ने नभएर शहरको न्यूनतम आवश्यकता भएको सांसद सिलवालले बताए ।

‘मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, शहरको शोभा र सभ्यतासँग पार्क जोडिन थालेको छ’, उनले भने, ‘बहुआयामिक कामका लागि पार्क चाहिने भएकाले हामीले निर्माण थालेका हौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले अब नेपाललाई प्रकृति र मान्छेले बनाएको सुन्दर देश भनेर चिन्ने बताउँदै आएका छन् तर प्रधानमन्त्रीको योजनाअनुसार काठमाडौंमा ठूलो पार्क बनाउने ठाउँ छैन । यद्यपि, मिचिएको सार्वजनिक जग्गा फिर्ता गरेर पार्क बनाउन लागिएको छ । यसले काठमाडौंको सुन्दरतालाई थप झल्काउने स्थानीयको विश्वास छ ।

‘पार्कले काठमाडौंको सुन्दरतालाई थप झल्काउनेछ’, स्थानीय समाजसेवी लक्ष्मण शर्माले भने, ‘धुम्बाराही आफैँमा एतिहासिक ठाउँ हो । पार्क बनेपछि सार्वजनिक जग्गाको पनि संरक्षण हुन्छ ।’

Skip This

Omoda E5 Pro