भरतपुर, असार १२ । पर्यटनमा आधारित जल यातायात सञ्चालन गरिरहेका मोटरबोट सञ्चालकहरू लामो बन्दाबन्दीको प्रत्यक्ष मारमा परेका छन् । सिजनभर नै बन्दाबन्दीको मार खेपेका सञ्चालकहरू वर्षा सुरु भएसँगै बैङ्कको ऋणको सावाँ ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् ।
दुई वर्षदेखि नारायणी नदीमा मोटरबोट सञ्चालन गरिरहेको संस्था एमटीएस मोटरबोट प्रालिका सञ्चालक सोम आले मोटरबोट सञ्चालन गर्न नपाउँदा आफूहरू समस्यामा परेको गुनासो गर्छन् ।“बन्दाबन्दीले परिवार नै कसरी पाल्ने भन्ने चिन्ता छ,” उनले भने, “बैङ्क तथा वित्तीय संस्थाहरूले यही बेला किस्ताको सावाँ ब्याज तिर्न भनेर दबाब दिइरहेका छन् । ” प्रालिको तीनवटा मोटरबोट नारायणी नदीमा सञ्चालनमा छन् ।
आलेले आफ्नो प्रालिअन्तर्गत बैङ्कमा १२ लाख रुपियाँ ऋण भएको बताए ।मोटरबोट चलेको भए एउटै मोटरबोटबाट दैनिक छ÷सात हजार कमाउन गाह्रो थिएन । अहिले हाम्रो तीन÷तीनवटा मोटरबोट ठप्पै भएर बसेका छन्, उनको गुनासो थियो । आफ्नो १५ जना परिवार यसैको आम्दानीमा आश्रित रहेको पनि उनले बताए ।
यस्तै अर्का मोटरबोट सञ्चालक मदन कर्माचार्य पनि मोटरबोट नचल्दा चुलो नबल्ने अवस्था भएको गुनासो गर्छन् ।
हिउँदको सिजन मोटरबोट चल्ने राम्रो सिजन हो तर चैतदेखि जेठसम्म नै मोटरबोट बन्द गर्नुपर्ने अवस्था आयो, उनले थपे, “असारदेखि असोजसम्म नारायणी बढ्ने हुँदा मोटरबोट चलाउन सकिने अवस्था नै रहँदैन । ” वर्षा उनीहरूका लागि अफसिजन हो । कोरोनाले त गर्नुग¥यो, कसरी परिवार पाल्ने हो भन्ने चिन्ता भयो, उनको भनाइ छ । कर्माचार्यको सात जनाको परिवार छ ।
नारायणी नदीमा अहिले १३ वटा मोटरबोट सञ्चालनमा छन् । साढे १२ लाख रुपियाँदेखि एक करोड २५ लाख रुपियाँसम्म लगानी गरेका मोटरबोट अहिले कोरोनाको कहरले सञ्चालनमा आउन सकेका छैनन् । एउटा मोटरबोटको कमाइ औसत दैनिक पाँच हजार रुपियाँ मान्ने हो भने पनि अहिले नारायणीमा रहेका १३ वटा मोटरबोटले दैनिक ६५ हजार रुपियाँ घाटा खाइरहेका छन् ।
जुन रकम महिनामा झन्डै२० लाख रुपियाँ हुन्छ । यस्तै नारायणी नदीमा नै क्रुज सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीको प्रभावले सञ्चालनमा ढिलाइ भएको छ । नारायणी नदीमा झन्डै दुई सय सिटको क्रुज चलाउने तयारी भइरहेका बेला बन्दाबन्दी भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।




प्रतिक्रिया