राष्ट्रपति–प्रधानमन्त्रीको पछिल्लो भेट शंकास्पद, पार्टीमा चलखेल गरे दुर्भाग्य हुने चेतावनी


काठमाडौं, असार १७ । स्थायी कमिटीको बैठक चलिरहेको भेला आफ्नै भनाइका कारण विवादमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रपतिसँगको पछिल्लो भेटलाई नेकपाका नेताहरु शंकाको दृष्टिले हेरेका छन् ।

भारतसँग मिलेर पार्टीकै नेताहरुले आफुलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको भन्दै दिएको अभिव्यक्तिपछि स्थायी कमिटी बैठकमै चर्को विरोध भइरहेका बेला प्रधामन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेपछि नेताहरुले यो भेटलाई अर्थपूर्ण रुपमा लिएका हुन ।

नेकपा स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटगर्नु सामान्य विषय भएपनि बैठकमा राजीनामाको कुरा उठ्नु, निर्वाचन आयोगमा नेकपा एमाले दार्ता हुनु जस्ता विषयले शंका उव्जाएको बताए । उनले पार्टीको आन्तरिक राजनीतिमा राष्ट्रपतिले चासो र चलखेल गर्न नमिल्ने र गरेमा दुर्भाग्य हुने बताए।

ज्ञवालीले भने,‘ निर्वाचन आयोगमा प्रधानमन्त्रीकै निर्देशनमा पार्टी दर्ताका लागि गएको नेता बामदेव गौतमा प्रस्टै भन्नु भएको छ । यहि अवस्थामा दुई पटक प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गर्नुभएको छ । यसले राष्ट्रपतिले पार्टीको आन्तरिक मामिलामा हात हाल्न खोजेको अनुभूति नेताहरुलाई गराएको छ । यो मिल्दैन । उहाँले भनेको सूचना सहि थियो भने भारतीय राजदुतलाई बोलाउनुपर्ने थियो । तर, राष्ट्र विरोधी कुरा गर्नुभयो ।’

ज्ञवालीले जारी स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको कामका विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्री ओलीले बहिरि कार्यक्रमम राखेका भनाइले नेताहरुको अपमान भएको टिप्पणी गरे। सार्वभौम राष्ट्र र राष्ट्रियताका विषयमा ओलीको भनाइले आघात पुर्याएको उनले दावी छ ।

‘संविधान बनाउदा पनि यस्तो विषय आएका थिए । हामीले मिलेर संविधान जारी ग¥यौं । चुनावमा पार्टी एक गर्ने भनेर गएको हुनाले बहुमत आएको हो र उहाँलाई पार्टीले प्रधामन्त्री बनाएको हो । अहिले उहाँले आफुलाई मात्रै राष्ट्रवादी हुँ भन्ने दावी गरेर गलत गर्नुभयो । नेपालमा उहाँमात्र हैन सवै पार्टी र नेताहरु राष्ट्रभक्त छन । भारत वा कुनै पनि देशको निर्देशनमा नेकपाका नेताहरु निर्देशित छैन । यसले नेपालको कुटनीतिक क्षमतामा प्रश्न उठाएको छ ।’ उनले भने ।

प्रधानमन्त्रीलाई हटाउने कुरा र एक पद कि दुई पद भन्ने कुरा बैठकले निर्णय गर्ने भन्दै ज्ञवालीले संसदीय दल पनि पार्टीकै भएकाले आवश्यक परे केन्द्रीय कमिटीले विधान परिवर्तन गरी नेता परिवर्तन गर्न सक्ने जनाए । को कुन पदमा बस्छ भने कुरा अब केन्द्रीय कमिटीले निर्णय गर्ने आवश्यक परे विधान संशोधन गरी संसदीय दलमा पनि परिवर्तन गर्न सकिने उनको भनाई छ ।