गौतमविरुद्धको मुद्दामा बुधबार पुनः सुनुवाई हुने


काठमाडौं, असोज १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई शुक्रबार नसकिएपछि पुनः हेर्दाहेर्दैमा परेको छ ।

गत बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा शुक्रबार पुनः सुनुवाई भए पनि नटुङ्गीउपछि पुनः हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रियसभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर असोज ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमा असोज ७ गते बुधबार प्रारम्भिक सुनुवाई भएको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमको सांसद पद हालका लागि यथास्थितिमा राखी संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश गरेको थियो ।

वर्दिया १ बाट पराजित गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको भन्दै दायर रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाले संवैधानिक इलाशमा सुनुवाइ गर्दै आएका छन् ।
मन्त्रिपरिषदको भदौ २९ गतेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेता गौतमलाई असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। गोरखापत्र दैनिकबाट