काठमाडौं, असोज २२ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको डिजाइन परिवर्तन गरिएसँगै अब गेट राख्ने स्थानमा ग्राउटिङ गर्नुका साथै गेट खोल्ने तरीका पनि फरक गरिने भएको छ ।
सुरुङमा पानी पथान्तरणका क्रममा असार ३० गते गेट फुस्किएर भएको मानवीय र भौतिक क्षतिलाई दोहोरिन नदिन आयोजनाले ग्राउटिङ गर्नुका साथै बाहिर बसेरैभित्र गेट खोल्न र गेट बन्द गर्ने पद्धति अपनाउने भएको हो ।
पहिला भएको दुर्घटना पुनः नदोहोरियोस् भन्नका लागि सुरुङभित्र गेट राखिने स्थानका भित्तामा १५ मीटर प्वाल पारेर ग्राउटिङ गरी कंक्रिट गरिनेछ । ग्राउटिङ भनेको सुरुङभित्र गेट राख्ने स्थानको भित्तामा प्वाल पारेर केही केमिकलसहित सिमेन्टको घोल ढुंगाको क्र्याकरमा पठाइने प्रक्रिया हो । यसले पानी चुहिने समस्या समाधान गर्छ ।
यसको सुनिश्चितताका लागि अहिले ठूलो स्केलमा ग्राउटिङ भइरहेको र यो प्रक्रिया सकिएपछि मात्रै सुरुङमा कंक्रिट गरिने आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।
‘ग्राउटिङ गर्न तथा सुरुङभित्र सामग्रीहरू लैजाँदा प्रयोग हुने खाली स्थान साँघुरो भएको हुँदा निर्माणमा समय लागेको छ,’ श्रेष्ठले भने, ‘गेटमात्रै राख्ने काम भएको भए १ महीनामै सकिने थियो ।’
गेट निकालिए पनि चौकस सोही स्थानमै भएको र ती संरचना साढे २ वाई ३ मीटर रहेकाले पनि आवतजावतका लागि साँघुरो भएको हो । चारओटा गेट रहेको उक्त सुरुङमार्गमा भने पहिला निर्माण गरिएका गेट नै प्रयोग हुने श्रेष्ठको भनाइ छ ।
यसअघि भएको दुर्घटनामा साइडको ग्राउन्डमा ढुंगाको क्र्याकबाट पनि पानी लिकेज भइरहेको थियो । पहिला तयार गरिएको डिजाइनमा ग्राउटिङ गर्नुपर्ने भनिए पनि यो प्रक्रिया अपनाइएको थिएन ।
आयोजनाका कारण गेटमा समस्या आएपछि थप संरचना निर्माण तथा सामग्री खरीदका लागि सरकारको खर्च भने हुनेछैन । गेट जडान, ग्राउटिङलगायत कामका लागि रू। ४५ लाख थप खर्च हुने उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।




प्रतिक्रिया