सक्रिय संक्रमित २६ हजारभन्दा धेरै, बागमति प्रदेशमा मात्रै १८ हजार


असोज २२, काठमाण्डौ । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमित भुषको आगोझै फैलिएको छ । पछिल्लो समय काठमाडौ उपत्यमाका मात्र ७५ प्रतिशत संक्रमित थपिएका छन् । यहि अवस्था कायम रहने हो भने अस्पतालहरुले धान्नै नसक्ने अवस्था आउन निश्चित छ । सरकारले अस्पताल तथा उपचारको व्यवस्था गर्न नसकेपछि नागरिकलाई अस्पताल नै नआउन गैरजिम्मेवारपूर्ण आग्रह गरेको छ ।

कोरोना संक्रमण तीव्र संख्यामा वृद्धि भए पनि सरकार सकभर लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा नगर्ने पक्षमा देखिएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका लगायतका सहरमा संक्रमण तीव्र गतिमा फैलिएसँगै अस्पतालमा बेडको अभाव समेत देखिन थालेको जनाएको छ ।

कोरोना नियन्त्रणमा उल्लेख्य काम गर्न नसकेको सरकारले नागरिकलाई सास फेर्न गाह्रो भएमा, वेहोस भएमा वा होला जस्तो भएमा वा पिसाव नभएमा वा कम भएमा मात्र अस्पताल जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार रुघाखोकी वा ज्वरो आउँदैमा अस्पताल नजान उर्दी जारी गरेका हुन् ।

सरकारले पछिल्लो समय लक्षण नभएका संक्रमितहरुलाई अस्पतालमा भर्ना नगर्ने नीति लिएकोप्रति सर्वसाधारणले मिश्रित प्रक्रिया दिएका छन् । अस्पतालमा अनावश्यक भिडभाड नगर्ने गरेको आग्रहलाई सकारात्मक रुपमा लिनुपर्ने कतिपयको तर्क छ भने कतिपयले भने उपचारमै बन्देज लगाउन खोजिएको भन्दै आक्रोष व्यक्त गरेका छन् ।

मन्त्रालयले पछिल्लो १ हप्तामा काठमाण्डौ उपत्यकामा १० हजारभन्दा धेरैमा संक्रमण भएको उल्लेख गर्दै स्वास्थ्य सतर्कता पालना नगरेकोप्रति असन्तुष्टी जनाएको छ । अन्य जिल्लाबाट काठमाण्डौ आउनेहरु कम्तिमा २ हप्ता क्वारेन्टिनमा बसेर मात्रै काममा वा बाहिर निस्किनपर्ने नियम भए पनि त्यसको पालना नभएकोप्रति प्रवक्ता गौतमले ध्यानाकर्षण गराएका हुन् ।

उनले संक्रमितको संख्या तीब्र संख्या बढ्दा उपचारका लागि अस्पतालमा बेड नै नभएको बताएका छन् । अहिले पनि कूल संक्रमितमध्ये करिब १५ हजार जना घरमै बसेका छन् । संक्रमितले उपचार गराउन चाहँदा पनि अस्पताल नपाउने अवस्था सृजना भइसकेको छ ।

बागमति प्रदेशमा करिब १८ हजार जना सक्रिय संक्रमित रहेका छन् । यस्तो अवस्थामा अब लकडाउन नै गर्नुपर्ने सुझाब स्वास्थ्यकर्मीहरुले दिएका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले तत्काल लकडाउन गरेर कोरोना नियन्त्रणको नीति लिनुपर्नेमा जोड दिएका छन् ।

तर सरकारले भने तत्काल लकडाउन गर्ने संकेत देखाएको छैन । लकडाउन गर्दा पनि विगतमा सरकारको निकै आलोचना भएको थियो । त्यसो त सरकारले लकडाउन मात्रै गर्ने अरु काम नगर्ने प्रवृत्ति देखाउकाले पनि कोरोना भाइरस संक्रमण नियन्त्रणमा असफल भएको आरोप लाग्दै आएको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै धेरै जनामा संक्रमण पुष्टी भएको हो । यसअघि बुधबार ३ हजार ४३९ संक्रमित थपिएका थिए ।

परिक्षण पनि अहिलेसम्मकै धेरै संख्यामा भएको हो । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित भेटिएको जानकारी दिइएको हो ।

आज थपिएका संक्रमितपछि नेपालमा कूल संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ ।